Harsamaya
मधेश प्रदेशमा कुष्टरोगको जोखिम उच्च
७३ औँ कुष्टरोग दिवसको अवसरमा जनकपुरधाममा शनिबार स्वास्थ्य निर्देशनालय मधेश प्रदेशद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम ।

जनकपुर - मधेश प्रदेशमा कुष्टरोगको सबैभन्दा बढि जोखिमम रहेको तथ्यांक सार्वजनिक गरिएको छ । ७३ औँ कुष्टरोग दिवसको अवसरमा जनकपुरधाममा शनिबार स्वास्थ्य निर्देशनालय मधेश प्रदेशद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार कुष्टरोगीको संख्यामा मधेश प्रदेश पहिलो स्थानमा रहेको छ ।

उक्त तथ्यांक अनुसार कुल कुष्टरोगीको संख्यामध्ये झण्डै एकतिहाइ रोगीको संख्या मधेश प्रदेशमै रहेको छ । देशभर हाल २ हजार ४०९ जना कुष्टरोगी रहेकामा मधेश प्रदेशमा मात्र ८५७ जना रहेको जनाइएको छ ।

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका कुष्टरोग अधिकृत राजवीर यादवले मधेश प्रदेशमा कुष्टरोगीको संख्या अत्यधिक भए पनि उपचार तथा नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय सरकारबाट पर्याप्त लगानी नभएको बताए । उनले प्रदेश सरकारले कुष्टरोग नियन्त्रण गर्न शून्य बजेट छुट्याएको जानकारी दिए ।

यस आर्थिक वर्षमा मधेश प्रदेशमा ५८ जनामा मात्र नयाँ कुष्टरोग पुष्टि भएको छ । १४ वर्ष मुनिका कुष्टरोगी देशभर ९१ जना रहेकामा मधेश प्रदेशमा ४० जना छन् । यस्तै, देशभरका १ हजार १२ महिला कुष्टरोगीमध्ये ३७८ जना मधेश प्रदेशका रहेको तथ्यांकमा उल्लेख छ ।

एक लाख जनसंख्यामा पत्ता लाग्ने नयाँ कुष्टरोगीको दर देशभर ८.१६ रहेकामा मधेश प्रदेशमा १३.६७ रहेको छ । त्यस्तै, प्रति १० हजार जनसंख्यामा वर्षको अन्त्यसम्म उपचारमा रहेका बिरामीको प्रकोप दर देशभर ०.८८ हुँदा मधेशमा १.२८ पुगेको छ ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख उमेश साहले मधेश प्रदेशका १३६ पालिकामध्ये हालसम्म ४५ पालिका मात्र कुष्टरोगमुक्त घोषित भएको जानकारी दिए । पर्सा, सिरहा र जनकपुरधाम क्षेत्र अति उच्च कुष्टरोग जोखिम क्षेत्रका रूपमा रहेको उनले बताए ।

ई.स. २०१९ देखि हालसम्म २७ प्रतिशत कुष्टरोगी निको भए पनि कुष्टरोगका कारण हुने अपाङ्गता दर अझै उच्च रहेको प्रमुख साहले बताए ।

७३ औँ कुष्टरोग दिवसको अवसरमा महोत्तरी, सिरहा, धनुषा र सर्लाहीसहित ६ स्थानमा स्वास्थ्य शिविर आयोजना गरिएको उनले जानकारी दिए ।

साहका अनुसार प्रदेश सरकार र स्थानीय सरकारले कुष्टरोग नियन्त्रणका लागि बजेट छुट्याउन आवश्यक रहेको छ । साथै सामाजिक स्तरमा पनि कुष्टरोगीहरुलाई हेप्ने र घृणाको भावनाले हेर्ने प्रवृतिलाई सुधार गर्न आवश्यक रहेको जनस्वास्थ्य प्रमुख साहको भनाई छ ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update