Harsamaya
आयोगले भन्यो - फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्‍याउँछौं
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ।

काठमाडौं - निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्याइसक्ने जनाएको छ । 

माघ ९ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु हुने आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघभित्र प्रत्यक्षतर्फको मतपत्र छपाई सम्पन्न गरेर फागुनको पहिलो हप्ताभित्र सवै स्थानमा मतपत्र पुर्याइसक्ने बताए । 

त्यस्तै समानुपातिकतर्फ डेढ करोड मतपत्र छपाई भइसकेको र बाँकी ५० लाख मतपत्र छपाई कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनले निर्वाचनका लागि ५१ मध्ये ३७ वटा सामग्री सम्बन्धित जिल्लामा नै खरिद गर्ने व्यवस्था गरिएको बताए । 

बाँकी रहेका १४ वटा सामाग्रीहरु माघ महिनाको तेश्रो हप्ताभित्र प्राप्त गर्ने र खण्ड खण्ड बनाएर ढुवानी गरिने उनको भनाइ छ । उनले गलत सूचना नियमन गर्न निरन्तर आयोगले काम गरिरहेको र नियमनकारी निकायसंग सहकार्य गरेर कारवाहीको दायरा ल्याउने काम भएको उल्लेख गरे । 

निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको नामावली प्रकाशन गरेपछि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि १ गरी तीन हजार ४ सय ८७ को उम्मेदवारी दर्ता भएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update