Harsamaya
कार्यकाल बाँकी हुँदै जिम्मेवारी छाड्नेहरू धमाधम उम्मेदवार 
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - स्थानीय तह, प्रदेश सभा सदस्य र राष्ट्रिय सभा सदस्य जितेकाहरू धमाधम राजीनामा दिँदै प्रतिनिधिसभा उम्मेदवार बनेका छन् ।

स्थानीय तहमा चर्चित बनेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राजीनामा दिएर झापा-५ बाट उम्मेदवार बनेका छन् । उनले काठमाडौं हुँदा पनि उल्लेखनीय काम गर्न सकेका थिएनन् । सामाजिक सञ्जाल र मिडियाले वाहावाही गरे पनि साहले दीर्घकालीन रुपमा फाइदा हुने काम गर्न सकेनन् ।

उनी डोजर चलाएर चर्चित बने तर निर्माणमा भने उल्लेखनीय केही गरेको देखिन्न । फोहोरलाई व्यवस्थित गरेर बिजुली निकालेर बेच्ने बालेन सपना काठमाडौँवासीले सपनाकै रूपमा लिए । उनले सार्वजनिक जग्गा अतिक्रमण भने रोकेका छन् । केही सरकारी जग्गाहरू सरकार मातहत ल्याएका छन् । तर २ वर्ष कार्यकाल बाँकी हुँदै बालेन प्रतिनिधिसभा निर्वाचनमा झापाबाट उम्मेदवार बनेका छन् । उनी पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रमा चुनावी प्रतिस्पर्धामा छन् ।

भरतपुर महानगरपालाकी मेयर रेणु दाहालले पनि राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार बनेकी छिन् । उनी चितवन-३ बाट नेकपाबाट उम्मेदवार बनेकी हुन् । उनको यो दोस्रो कार्यकाल हो । ८ वर्ष महानगरमा बिताएकी रेणुले भरतपुर विकासमा कुनै कसर बाँकी नराखेको बताएकी छिन् । उनले प्रस्ट देखिने गरी भरतपुरको विकासमा लागेकी छिन् । दोस्रो कार्यकालपछि पुन मेयर हुन नपाउने भएपछि दाहाल प्रतिनिधिसभाको उम्मेदवार बनेकी हुन् ।

यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि २ वर्षे कार्यकाल त्यागेर प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । 'श्रम संस्कृति पार्टी' पार्टीका अध्यक्षसमेत रहेका उनी सुनसरी-१ बाट चुनावी मैदानमा छन् ।

यस्तै बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गर्न उनीहरूले प्रदेशसभा सदस्य पदबाट आज राजीनामा दिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि भोलि उम्मेदवारी मनोनयन दर्ता हुँदै छ ।

आज साँझसम्म नेपाली काँग्रेसका कुन्दनराज काफ्ले, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल र वसन्तप्रसाद मानन्धर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनिल केसीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । काफ्लेले प्रदेशसभा सचिवालयमै पुगेर उपसभामुख अप्सरा चापागाईँलाई राजीनामा बुझाएका छन् भने प्रदेशसभा सदस्य मास्के, श्रेष्ठ, दुलाल, मानन्धर र केसीले प्रदेशसभा सचिवालयको इमेलमार्फत राजीनामा पठाएको सचिव पौडेलले बताए ।

राजीनामा दिएका मास्के प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ६ मा टिकट पाएका छन् । यसै गरी दुलाल नेपाली कम्युनिस्ट पार्टीबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि टिकट पाएका छन् । काफ्लेले राजीनामा दिए पनि टिकट पाएनन् । दोलखामा काँग्रेसका अजय बाबु सिवाकोटीले टिकट पाए ।

यस्तै, लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिएका छन् । २०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नं ४ (१) मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट प्रदेशसभा सदस्यमा निर्वाचित बनियाँले आजदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । बनियाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–४ बाट उम्मेदवारी दिने जानकारी दिए । यस्तै, सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् । डडेलधुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभामा विजयी भएका डा जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डडेलधुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि उनले राजीनामा दिएका हुन् ।

यता, मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । जनकपुरधामस्थित मधेस प्रदेशसभा कार्यालयमा प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष पूर्व मुख्यमन्त्री सिंहले राजीनामा पत्र बुझाएका हुन् । यस्तै, राष्ट्रिय सभाका तीन जना सदस्यहरूले राजीनामा दिएका छन् । प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् । वामदेव गौतमले भने टिकट पाएनन् ।

यस्तै, प्रतिनिधिसभामा उम्मेदवार हुने भन्दै जेनजी सरकारका तीन मन्त्रीले समेत राजीनामा दिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिए । भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयसमेत सम्हालेका मन्त्री घिसिङ काठमाडौं-३ को उम्मेदवार बनेका छन् । यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्दै दलीय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने निष्कर्षमा पुगेकाले पद त्याग्ने निर्णय लिएको स्पष्ट पारेका छन् । उनी ललितपुर-२ बाट रास्वपा बाट उम्मेदवार बनेका छन् ।

यस्तै बब्लु गुप्ताले पनि राजीनामा दिएका छन् । युवा तथा खेलकुद मन्त्री गुप्ताले राजीनामा सोमबार राजीनामा दिएका हुन् । पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेका थिए । अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update