उदयपुर - उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् ।
दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौँ ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ ।
एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेले जानकारी दिए ।
वैदेशिक रोजगारीका लागि दुबई हिँडे पनि सम्पर्कमा नआएका उनी म्यानपावरमा सोधीखोजी गर्दा स्वास्थ्यमा समस्या आएकाले दिल्ली ट्रान्जिट गरी अस्पतालमा छाडेको एयरलाइन्सले जानकारी दिएको थियो । तर अस्पतालमा खोजी गर्दा फेला नपरेको पारिवारिक स्रोतले जनाएको थियो ।
दर्नालको आर्थिक अवस्था कमजोर रहेकाले वडाध्यक्ष प्रेम मगरले वडाबाट निःशुल्क उपचारका लागि आवश्यक प्रक्रिया पूरा गरी नगरमा सिफारिस गरेर पठाइसकेको बताए ।
बेवारिसे अवस्थामा भेटिएका दर्नालको खुट्टाको औँलासमेत काटिइसकेको अवस्थामा फेला परेको जनाइएको छ । वैदेशिक रोजगारीका लागि दुबई उडेका दर्नाल भारत ट्रान्जिट हुँदा छुटे वा कसरी दिल्लीमा अलपत्र परे भन्ने बारे अझै खुल्न नसकेको पनि वडाध्यक्ष मगरले बताए ।

