रौतहट - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी (निर्वाचन प्रहरी) भर्ना प्रक्रिया सुरु भएसँगै बारामा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ ।
भर्नाको पहिलो दिन नै जिल्ला प्रहरी कार्यालय बारामा आवेदन दिनेहरूको ठूलो भीड लागेको छ।पहिलो दिन नै देखिएको युवाहरूको उपस्थितिले स्थानीय स्तरमा निर्वाचन प्रतिको चासो र रोजगारीको अवसर दुवैलाई प्रतिबिम्बित गरेको छ ।
भर्ना हुन चाहने उम्मेदवारहरूका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको छ । भर्ना भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ ।
बारा प्रशासनले जिल्लाका विभिन्न मतदान केन्द्रको सुरक्षा र निर्वाचन व्यवस्थापनका लागि कुल ४ हजार ३४ जना म्यादी प्रहरीको माग गरेको छ । आवेदन दिने म्याद आगामी माघ १ गतेसम्म तोकिएको छ ।
सरकारले यसपटकको निर्वाचनका लागि देशभर कुल १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने लक्ष्य राखेको छ ।
निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अन्तर्गत करिब डेढ लाख सुरक्षाकर्मी परिचालन गरिँदैछ ।
जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका जनशक्तिहरूबीच समन्वय रहने जनाइएको छ ।

