Harsamaya
सुदूरपश्चिम काँग्रेसका ६ जिल्ला सभापतिहरूले भने - विशेष महाधिवेशन विधान विपरीत

काठमाडौं - सुदूरपश्चिम क्षेत्रका नेपाली काँग्रेसका ६ जिल्ला सभापतिहरूले विशेष महाधिवेशनलाई ‘विधान विपरीत’ भन्दै सहभागी नहुन अपिल गरेका छन् ।  बझाङ जिल्ला सभापति खडक बहादुर बोहरा, डोटी सभापति नरेन्द्र बहादुर सिंह, डडेलधुरा सभापति भिम साउँद, अछाम सभापति पुष्पबहादुर शाह, कञ्चनपुर सभापति पदम बोगटी र कैलाली सभापति नारायणदत्त भट्टले संयुक्त विज्ञप्ति निकालेर विशेष महाधिवेशनमा सहभागी नहुन अपिल गरेका हुन् ।

काठमाडौंको भृकुटीमण्डपमा यही पुस २७ र २८ गते  महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा विशेष महाधिवेशन हुँदै छ । 

पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष अधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केबल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको भन्दै उनीहरूले अहिले हुन लागेको विशेष महाधिवेशनलाई विधान विपरीत भनेका छन् । उनीहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा एकताबद्ध भएर लाग्न पनि आह्वान गरेका छन् ।

विशेष महाधिवेशन पक्षधरले भने महाधिवेशन प्रतिनिधिहरुको माग अनुसार विशेष महाधिवेशन गर्न लागेकाले विधानसम्मत भएको बताउँदै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update