Harsamaya
श्री स्वस्थानी व्रत कथा अध्याय - ६
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडाैं - श्री स्वस्थानी व्रत सुरु भएको आज छैटौँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका रहेको छ । 

यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोग ब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रत कथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौँ । आज छैटौँ दिन छैटौँ अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ ।

अथ षष्ठोऽध्याय :-
कुमारजी आज्ञा गर्नुहुन्छ - 'हे अगस्त्य मुनि ! यस्तो किसिमसँग मैले त्रिपुर-दाह सुनाएँ, अब के सुन्ने इच्छा छ ?' यस्तो कुरा सुनी अगस्त्य मुनि बिन्ती गर्दछन्- हे कुमारजी! दक्षप्रजापतिका तेत्तीस कोटि कन्या तेत्तीस कोटि देवताले विवाह गरे । सतीदेवीलाई विष्णु भगवान्‌को छलले शिवजीले प्राप्त गर्नुभयो। त्यसपछि सतीको मृत्यु के कारण परेर भयो ? यस विषयमा सुन्ने इच्छा छ, सुनाइबक्सियोस्। यस्तो आग्रह गरेको सुनी कुमारजी भन्नुहुन्छ 'हे मुने ! एकदिन दक्षप्रजापतिले विरणीसित भने- हे स्त्री ! मैले यज्ञ गर्ने इच्छा गरेको धेरै समय भयो, अब त्यो यज्ञ गर्ने इच्छा बलवती भयो तसर्थ तिमी सम्पूर्ण सामग्री तयार गर । अनि महादेव र सतीदेवी बाहेक अरू छोरी-ज्वाइँ र ब्रह्मा, विष्णु आदि समस्त देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्य, अप्सरा, दश दिक्पाललाई निमन्त्रणा गर्न पठाऊ भन्ने आफ्ना स्वामीको आज्ञा पाई विरणीले सम्पूर्ण सामग्री तयार पारी महादेव र सतीदेवी- बाहेक सबै छोरी,ज्वाइँ, ब्रह्मा, विष्णु, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग, अप्सरा, दश दिक्पालहरूलाई निमन्त्रणा पठाइन् । दक्षका सबै छोरी ज्वाइँहरू नाना वस्त्रालंकार पहिरी यज्ञमा होम्न अनेक मणि- माणिक्य, फल-फूल र वस्त्रादि यज्ञमा होम गर्ने सामग्री लिएर दक्षप्रजापतिको यज्ञ हेर्न भनी आए ।

दक्षले पनि सबै आएका व्यक्तिहरूलाई यथायोग्य सेवा सत्कार गरेर राखे । सुदिनमा यज्ञ आरम्भ भयो । त्यो अश्वमेध यज्ञ कस्तो भने- नन्दी, भृङ्गी, चतुःषष्ठी योगिनी, भूत-प्रेत, पिशाच, प्रमथगण - सहित भई श्रीमहादेव बस्ता जस्तो शोभा हुन्छ, त्यस्तै तेत्तीस कोटि छोरी ज्वाइँ र ब्रह्मा, विष्णु आदि देवता; ऋषि, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग, अप्सराहरू नाना वस्त्र अलंकार पहिरी ऊ भन्दा ऊ राम्री, ऊ भन्दा ऊ राम्री भई नाच- गान गरी मंगलको निमित्त सुवर्णमय कलश- सहित अश्वमेध यज्ञ गर्दा शोभायमान देखियो । त्यसरी अश्वमेध यज्ञ चलिरहेको बखतमा नारद मुनिले को आए, को आएनन् भनी आसनबाट उठेर चारैतिर हेर्न लागे। दक्षका तेत्तीस कोटि कन्या, ब्रह्मा-विष्णु प्रभृति सकल देवता; ऋषि, यक्ष, गन्धर्व, किन्नर, नाग, अप्सरा आदि सबैलाई देखे, तर महादेव र सतीलाई देखेनन् । बिना महादेवको यो दक्ष प्रजापतिको यज्ञ कसरी पूर्ण होला, के कारण हो, निम्ता पठाउन पो बिर्सेका हुन् कि अथवा अरू कुनै कारण छ कि भन्ने मनमा तर्क गर्दै तुरुन्त त्यहाँबाट अन्तर्धान भई कैलास पर्वतमा गए । 

त्यसै बेला उता महादेवले सतीदेवीलाई- 'हे प्रिये ! आज हामी दुवै जना जूआ खेलाँ, आऊ' भन्नुभयो । सतीले 'हवस्' भनी पाशा ल्याइन् र दुवै जना प्रेम-साथ जूआ खेल्न लागे । खेलमा सतीदेवीले जितिन् र स्वामीलाई गिज्याउन लागिन्। अनि शिवजी झोकिएर झोली थापे, त्यो पनि जितिन् । अनि नागरूपी गहना थापे, त्यो पनि जितिन् । त्यसै वेला दक्षको निम्ता पाएर देवता, दानव, यक्ष, किन्नरहरू विमानमा बसेर गइरहेका थिए । तिनीहरूलाई देखेर सतीले स्वामीसित- 'ती विमानमा बसेर जाने को हुन्, आज्ञा हवस्' भनी सोधिन् र महादेवले- 'तिमीलाई केको धन्धा पयो, आफ्नू काम गर' भन्दा सतीदेवी चिन्तित भएर माथितिर नै हेरिरहिन् । अनि शिवले हाँसेर मुकुट थाप्नुभयो, त्यो पनि जितिन् । त्यसरी निकैपल्ट हारेकोले शिवजी केही पनि नभनी हाँसिरहनुभयो । अनि सतीदेवीले बिन्ती गरिन् - 'हे स्वामी ! हजुरका सबै वस्तु मैले जितिसकें, अब के थाप्नुहुन्छ, लौ थाप्नुहोस् ।' अनि शिवजीले- 'अब म आफ्नो अंग थाप्दछु' भन्नु- भयो । तब सतीदेवीले हात जोरेर विनम्र स्वरमा बिन्ती गरिन् - 'हे स्वामी ! हजुरको अंग त अघि पनि पछि पनि मेरै हो । यदि मैले हारेँ भने हजुरको अंगको साटो कुन कुरा टक्र्याउँला ? यो सम्पूर्ण ब्रह्माण्डमा हजुरको अंगको साटो दिने मेरो विचारमा कुनै वस्तु पनि छैन । फेरि हजुरको अंग जूआ खेली जितेर आफ्नू बनाउनुपर्ने पनि केही आवश्यकता देख्दिनँ, जुन दिन मेरा पिता- माताले तिल-कुश-सहित हजुरका हातमा मेरा हात राखिदिएका थिए, उसै दिनदेखि हजुरको अंग मेरो र मेरो अंग हजुरको भइसक्यो । यसमा शंका छैन र हजुरले आफ्नो अंग थाप्नु- पर्दैन।'

सतीदेवीको त्यस्तो स्नेहयुक्त वचन सुनेर महादेव प्रसन्न भई - 'धन्य तिमी' भनेर जूआ खेल्न छाडी मीठा-मीठा वार्ता गरेर कैलासमा बसेका थिए । त्यसै वेला नारद मुनि पुगेर सती र शिवलाई साष्टांग दण्डवत् गरी हात जोरेर उभिइरहे । श्रीमहादेव कस्ता भने - जटाको मुकुट बनाई, बाघका छालाको पटुका कसेका, हात्तीको छाला ओढेर सर्वाङ्गमा भस्म लेपन गरी, स्थान- स्थानमा सर्पका गहना लगाई, घाँटीमा नर-मुण्डमाला पहिरी, सतीदेवीलाई काखमा लिएर कोटि सूर्य झैँ तेजले जाज्वल्यमान भई, नन्दी, भृंगी, भूत-प्रेत, डाकिनी-शाकिनी द्वारमा राखेर प्रमथगण- सहित भइरहेका महादेवलाई नारदले देखेर हर्ष मानी बारम्बार चरणमा गिरी दण्डवत् गर्दा भए । त्यसरी नारदजीले भक्ति गरेको देखेर मनमा आनन्द मानी श्री महादेवले आज्ञा भयो- 'हे मुने ! तिम्रो भक्ति देखेर म प्रसन्न भएँ, जे इच्छा छ वर माँग।' तब नारदजी केही भन्न नसकी उभिइरहे । तब- 'के काम परेर यहाँ आयौ ? भन' यति शिवजीले आज्ञा भएको सुनी नारदजी हात जोरेर भन्न लागे- 'हे शम्भो ! म अरू के वर माँगूँ ? हजुरको भक्तिमा मेरो चित्त सदा लागिरहोस् । हे ईश्वर ! म आउने कारण के हो भने- दक्षप्रजापतिले अश्वमेध यज्ञ गर्दा तीनै लोकका देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नग, अष्टवसु, वसिष्ठ आदि ऋषि र ब्रह्मा- विष्णु एवं दश दिक्पाल सहित सबै यज्ञस्थलमा आएका छन् । मैले यज्ञस्थलमा प्रदक्षिणा गरेर हेर्दा केवल हजुर दम्पतीलाई देखिनँ र यज्ञका मुख्य भोक्ता, कर्ता एवं फलदाता हजुरलाई किन डाकेनन् ! भनी आश्चर्य लाग्यो र म त्यही कुरा बिन्ती चढाउन आएको हुँ। हे गौरीशंकर ! यसको अर्थ केही बुझ्न सकिनँ' भनी नारद मुनिले बिन्ती गरेको सुनी सतीदेवीले आफूलाई अत्यन्त अपमान गरेको ठानी श्रीमहादेवसित बिन्ती गरिन् - 'हे जगदीश्वर ! नारायण प्रभृति तेत्तीस कोटि देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्य, अप्सराहरू र मेरा सबै बहिनीहरूलाई डाक्ता हामी दुई जनालाई मात्र किन डाकेनन् ?' भन्दै विस्मयका साथ आँखाबाट आँसु बगाइन् र मलिन मुख भएकी सतीदेवीलाई शिवजीले आज्ञा भयो- 'हे प्रिये ! तिमी दुःख नमान, किनभने तिमी नरुचाइएकी छोरी, म मन नपरेको ज्वाइँ, डाकेनन् त के भयो ? यस कुरामा तिमीले आफ्नू अपमान मान्नुपर्दैन, तिम्रो म छँदै छु । दक्षको यज्ञमा गएर पो हामीले के पाउनु छ र नगए पनि के होला !' भनी धेरै प्रकारले सम्झाउँदा पनि नमानेर- 'हे स्वामी ! त्यस्तो आज्ञा नहोस्, मलाई त्यो अश्वमेध यज्ञ हेर्ने अत्यन्त इच्छा छ । आज्ञा भए नारदजीसित गई एकपटक हेरेर मात्र आउने थिएँ' भनेर बहुतै जिद्दी गरी महादेवका चरणमा परिन् । जगदीश्वरले फेरि भन्नुभयो- 'हे प्रिये, यस्तो हठ नगर । किनकि विशेष गरेर तिमी आफ्नो स्वाभिमानमा रहेकी, त्यहाँ अपमान होला । जाने काम नगर' भनी अनेक किसिमले बुझाउँदा पनि नमानी नारदका साथ लागी कैलासबाट प्रस्थान गरिन् । पिताको यज्ञस्थलमा पुगेर आदरसाथ माता-पितालाई ढोग दिई, साह्रै चित्त दुखाई, आँखाबाट आँसुका धारा बगाई मंगल वचन बोलिन् 'हे माता- पिता ! हजुरहरूले गर्न लागेको यस्तो ठूलो यज्ञमा पनि मलाई किन सूचना दिनु- भएन ? के म हजुरहरूकी छोरी होइन ? मैले के अपराध गरेँ, अथवा मेरा स्वामीले हजुरको के विराम गरिदिनुभयो, आज्ञा हवस् । विष्णु प्रभृति तेत्तीस कोटि देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग, अप्सरा र ऋषि-मुनि एवं दश दिक्पाल स्त्री-पुरुष- सहित सबै डाकेर केवल हामी दुई जनालाई मात्र किन डाक्नुभएन ? फेरि यज्ञका कर्ता-धर्ता महादेव नै हुनुहुन्छ, उनी-बिना हजुरको यो यज्ञ कसरी पूर्ण होला ? यज्ञको फल दिने पनि उहाँ नै होइबक्सिन्छ, देवताका देवता पनि शिव नै होइबक्सिन्छ । फेरि सृष्टिकर्ता पनि उहाँ नै होइबक्सिन्छ । महादेव- बिना गरेको यज्ञ निष्फल हुन्छ। यज्ञकर्त्ता नभएको यस्तो अशुद्ध यज्ञ किन आरम्भ गर्नुभयो ? यसले हजुरहरूको कदापि जय हुनेछैन । श्रीमहादेवलाई तुरुन्त डाक्न पठाउनुहोस् अनि मात्र यज्ञको उद्देश्य सफल भई इच्छित फल प्राप्त हुनेछ । हे पिता ! शंकरलाई अशंकर गरी थाल्नुभएको यो यज्ञ शंकर नभईकन पनि पूर्ण हुन्छ ? कि यो ब्रह्माण्डमा दुई शंकर छन्, यदि छन् भने मलाई आज्ञा हवस् ! फेरि मेरो स्वामीलाई नडाकेको कारण के हो ? हे माता-पिता ! मलाई भन्नुहवस्' भनी सतीदेवीले भनेको सुनी दक्षप्रजापति भन्न लागे- 'हे पुत्री ! तँ मनमा दुःख नमान् । तेरो पति भोलानाथ यो यज्ञमा डाक्ने योग्य छैन किनकि तेत्तीस कोटि देवता, यक्ष, गन्धर्व, नाग आदि अनेक रंग- विरंगका वस्त्र र मणि- माणिक्यका अनेक अपूर्व गहनाहरूले सज्जित भई, श्रीखण्ड आदि सुगन्धित वस्तु लेपन गरी, अनेक थरिका मंगल यात्रा गरी, गन्धर्वद्वारा गीत र अप्सराहरूको नाच आदिले शोभित भएको यज्ञमा देख्दै घिनलाग्दो त्यो महादेवलाई कसरी डाक्ने ? हे सती ! तेरो स्वामी के ढंगको छ र ? देहमा खरानी घसी, कम्मरमा बाघको छाला बाँधी, हात्तीको छाला ओढी, विष, भाँग, धतुरो खाई, राता-राता आँखा पारी, जस्तो मन लाग्यो उस्तै नाची, सर्पको गहना लगाउने, जटाको मुकुट कस्ने, मुण्डमाला पहिरी, दायाँ हातले डमरु बजाई, बायाँ हातले त्रिशूल समाई, भूत-प्रेत आदि अघि-पछि लगाई, दिगम्बर मतवाला जस्तै जहाँ पायो उहीं पाउ राखी, लाज नमानी हिंड्ने । यस यज्ञमा भने- देवकन्या, नागकन्या, गन्धर्व-कन्या र तेरा सबै बहिनीहरू तथा तेत्तीस कोटि देवताहरूले शोभायमान यस्तो पवित्र यज्ञस्थलमा त्यस्तो देख्तै अशोभा हुने र घिनलाग्दो तेरो स्वामीलाई कसरी डाकूँ, भनी नडाकेको हो । फेरि तँलाई मात्र डाकूँ भने उ पनि पछि लागेर आउला भनी तँलाई पनि डाक्न सकिनँ । तँ दुःख नमान् । फेरि तँले हाम्रो सेवा पनि गरेकी होस्, अपराध पनि केही गरेकी छैनस् । तेरो स्वामी त्यस्तो गतिको हुनाले नडाकेको हो ।

फेरि सृष्टि-स्थिति-संहार गर्ने महादेव हुन् र यज्ञको फल दिने पनि उनै हुन् भनिस् । त्यो कुरा होइन, त्यो त बहुलाहा मात्र हो । यज्ञकर्त्ता श्री नारायण हुन्, सृष्टिकर्ता चतुर्मुख ब्रह्मा हुन्, स्थिति संहार कर्ता पनि नारायण महाविष्णु हुन् । त्यो महादेव कहाँको देवता हो ? त्यसलाई नडाकेर मेरो यज्ञ कसरी अपूर्ण होला ! तेरो स्वामी महादेवलाई त कसै गरे पनि म डाक्तिनँ । त्यसले मेरो यज्ञमा के वरदान देला ? तेत्तीस कोटि देवता, ब्रह्मा-विष्णु स्वयं उपस्थित छन्' भनी दक्षप्रजापतिले जगदीश्वर महादेवलाई क्षुद्र वचनले निन्दा गरेको सुनेर मनले सहन नसकी, राता-राता आँखा पारी, क्रोधले नाग जस्तै लामो- लामो श्वास फेरी सुस्केरा हाल्दै दाह्रा किटी जुरुक्क उठेर भूमिमा लात्तले हानी, स्वामीको निन्दा गरेको सम्झी, चित्तले सहन नसकी, छातीमा मुड्कीले हानी, शिव, शिव ! भन्दै स्वामीको नाम उच्चारण गरी यज्ञ-कुण्डमा हामफाली प्राण छाड्दी भइन् । अनि हिमालय पर्वतकी स्त्री मेनकाको गर्भमा वास लिन पुगिन् ।

।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां सतीदेवीदेहत्यागवर्णनं नाम षष्ठोऽध्यायः ।। ६ ।। 

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update