Harsamaya
नेपाली क्रिकेट अब पछाडि फर्केर हेर्ने अवस्थामा छैन : क्यान अध्यक्ष चन्द
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द ।

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले अब पछाडि फर्केर हेर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

सोमबार आयोजित जर्सी तथा ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरिसकेको उल्लेख गरेका हुन् ।

अध्यक्ष चन्दले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपबाट नेपाली क्रिकेटको यात्रा उल्लेख गर्दै त्यसबेला नेपालले उत्कृष्ट प्रदर्शनसहित छनोट भएको बताए । उनका अनुसार त्यतिबेला विश्वकपमा १६ टिम सहभागी थिए र अहिले २० टिम छन् । ‘२०२४ मा क्यारिबियन र युएसएमा भएको पछिल्लो विश्वकपमा नेपालको प्रदर्शनले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याएको छ ।’

उनले जित–हार खेलको सामान्य प्रक्रिया भएको उल्लेख गर्दै बंगलादेश र दक्षिण अफ्रिकाजस्ता बलिया टिमविरुद्ध नेपालको प्रदर्शनले विश्व क्रिकेटमा नेपाली क्रिकेटको दस्तक दिएको बताए । ‘त्यो प्रदर्शनपछि नेपाली क्रिकेट अझ माथि जान्छ भन्ने विश्वास बलियो भएको छ,’ अध्यक्ष चन्दले भने ।

अध्यक्ष चन्दले अब नेपाली क्रिकेटलाई आम नेपाली, राजनीतिक दल र सरकारले समेत प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए । ‘नेपाली जनताको अपेक्षा अनुसारको प्रदर्शन भएको छ, अब यसलाई संस्थागत रूपमा अगाडि बढाउन सबैको सहयोग जरुरी छ,’ उनले जोड दिए । उक्त कार्यक्रमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आईसीसी टी २० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीलाई शुभकामना समेत दिए ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update