Harsamaya

काठमाडौं - धनुषाको कमलामाई नगरपालिकास्थित मुस्लिमहरूको धार्मिक स्थल मस्जिदमा तोडफोड र धार्मिक ग्रन्थ कुरान जलाइएको विषयलाई लिएर धार्मिक अभियन्ताहरूले चिन्ता व्यक्त गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै धार्मिक अभियन्ताहरूले समाजमा धार्मिक सहिष्णुता कायम राख्न र त्यस प्रकारका आपराधिक गतिविधिमा संलग्न भएकाहरूलाई कारबाही गर्न माग गरेका हुन् ।
मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष ताज मोहम्मद मियाले धनुषाको कमलामाई नगरपालिको मस्जिदमा भएको घटनाबाट सबै जना सचेत हुनुपर्ने बताए । समाजमा धार्मिक द्वन्द्व भएको खण्डमा मुलुक असफल राष्ट्रको रूपमा अगाडि बढ्ने उनको भनाइ छ ।
उनले नेपाल निर्माणमा मुस्लिम समुदायले निकै रगत बगाएको बताए । यो देशको रक्षाको लागि मुस्लिम समुदायले ठुलो योगदान गरेको उनको भनाइ छ । उनले आफूहरू धार्मिक सहिष्णुताको पक्षमा रहेको बताए ।
उनले भने, ‘हामीमाथि बारम्बार आक्रमण गरिन्छ भने त्यसको जवाफ दिन हामी सक्षम छौँ । तर, यो देशप्रति हाम्रो चिन्ता छ । हाम्रो कुरान जलाइयो । हाम्रो सबै धर्मप्रति सम्मान छ । धर्म मान्ने स्वतन्त्रतामाथि कसैले औँला ठड्याउन आवश्यक छैन । मुस्लिम, हिन्दु, क्रिश्चियन, बौद्ध सबै हामी एकजुट भएर विखण्डन ल्याउने, समुदायबिच झगडा गराउने, धार्मिक आस्थाप्रति प्रहार गर्ने कुतत्त्वहरु विरुद्ध एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

त्यसै गरी, हिन्दु महासंघका पूर्व अध्यक्ष दामोदर गौतमले सबै धर्मप्रति  राख्नुपर्ने आवश्यकता औंल्याए ।
नेपाल बौद्ध महासंघका अध्यक्ष नोर्बु थुन्डु शेर्पा (गेशे थुप्तेन जिम्पा) ले धार्मिक र जातीय द्वन्द्व फैलिएको अवस्थामा देश असफल हुने बताए ।

उनले भने, ‘अहिले इतिहासमा कुचेष्टा गरिँदै छ कि धार्मिक द्वन्द्व फैलाएर हाम्रो सामाजिक सद्भाव भाँड्ने र आफ्नो स्वार्थ पूरा गर्ने तत्त्वहरु सक्रिय भएको देखिन्छ । यस्ता कार्य गर्नेलाई देशको कानूनअनुसार कारबाही हुनुपर्छ ।’
धार्मिक तथा सामाजिक अभियन्ता नुर मोहम्मद मियाले देशमा धर्म र जातको नाममा उशृङ्खल प्रवृत्ति देखापरेको भन्दै चिन्ता व्यक्त गरे । उनले २१औं शताब्दीमा विनासको झिल्कोको रूपमा जातीयता र धार्मिकता अगाडि आइरहेको बताए । धर्मको नाममा मस्जिद तोडिएको, हिन्दुको मन्दिरमा प्रहार गरिएको दुवै व्यवहार निन्दनीय रहेको उनले बताए ।
उनले इस्लाम धर्म, हिन्दु, क्रिश्चियन, वौद्धलगायत कसैले पनि हिंसा र अन्याय गर्नुपर्छ भनेर नसिकाउने भन्दै मिलेर बसेको समाजमा भाइचारा कायम गरिनुपर्ने बताए ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update