काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, जस्ता बिरामीको सङ्ख्या बढ्ने भएकाले चिसोमा बाहिर ननिस्कन अनुरोध गरेका हुन् ।
“जाडो याम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीत लहर, हुस्सु, कुहिरो र हिमपात जस्ताले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मिया जस्ता लक्षण भएका बिरामीहरू बढ्ने गरेका छन्,,” उनले भने । उनका अनुसार जाडो याममा बालबालिका, गर्भवती, वृद्ध वृद्धा तथा दीर्घ रोगी बढी जोखिम हुने गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले पछिल्ला वर्षहरूमा जाडो यामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्कलगायत अङ्गमा गम्भीर असर पार्नाका साथै दम, क्यान्सरजस्ता दीर्घरोगको जोखिम र मृत्युदर बढ्ने गरेको बताए । “चिसोका कारण उत्पन्न हुने सक्ने लक्षण वा रोगलाई न्यून गर्न तथा लाग्न नदिन, धुवाँ धुलोबाट बच्ने, पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने, भिटामिन सी पर्याप्त मात्रा भएका सुन्तला, कागती र अमला खाने, मौसम अनुसारको ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा ध्यान दिने र प्रशस्त मात्रामा झोल पदार्थ खाने गर्नुपर्ने हुन्छ”, उनले भने ।

