Harsamaya
सामाजिक सञ्जालमा होहल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम छ - प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड ।

काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम परेको बताएका छन् । 

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका नेता केशव रावलको पैदल यात्रा समापन कार्यक्रममा प्रचण्डले दशकौँ लडाइँ गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेकाहरुलाई वद्नाम गर्दै सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम परेको बताएका हुन् । 

अहिले विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो गरि सामाजिक सञ्जालमा प्रस्तुत गर्न खोजेको उनले बताए ।

प्रचण्डले सहर बजारमा गरेजस्तो हल्ला सत्य नभएको र जनतामा अहिले पनि नेकपा र आफुहरुले गरेको पार्टी एकताप्रति सकारात्मक भाव रहेको जस्तो आफूहरुलाई महशुस भएको धारणा राखे ।

उनले सामाजिक सञ्जालमा हल्ला गरेजस्तो परिस्थिति अहिले नरहेको जिकिर गरे । त्यस्तै उनले अहिले सूचना प्रविधिको प्रभाव, प्रभुत्व, स्वामित्व प्रतिक्रियावादी शक्तिहरुको हातमा रहेको र उनीहरुले चाहेजस्तै गरि प्रयोग भइरहेको बताए । 

उनले सामाजिक सञ्जालमा रमाएर नेपाल कव्जा गरेको ठान्नेहरुबिरुद्ध जनताहरु एक भएर लाग्नुपर्नेमा जोड दिए । राष्ट्रको झण्डा, कम्युनिष्ट पार्टीको झण्डा र नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिह्न तारा बोकी रुकुम पूर्वदेखि काठमाडौंसम्म यात्रा गरेका नेकपा नेता केशव रावलले प्रचण्ड र माधव नेपाललाई झण्डा हस्तान्तरण गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update