काठमाडौं - नेपाल ओलम्पिक कमिटी (एनओसी) अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रमा राजनीति हावी भएको बताएका छन् ।
सोमबार काठमाडौंमा एनओसीको २१ औं साधारणसभाको उद्घाटनका क्रममा अध्यक्ष श्रेष्ठले खेल क्षेत्रमा राजनीति हावी भएका कारण अधिकांश विवादहरु अदालतमा पुगेको भन्दै यसले समग्र खेलकुदमा नै असर परिरहेको बताएका हुन् । एनओसीभित्र पनि अनावश्यक विवादका कारण आफ्नै घर हुँदा हुँदैपनि घरवारबिहीन हुनपुगेको उनले बताए
उनले नेपालको खेलकुलको बिकासका लागि प्रतिकुलताकाबीच पनि एनओसी सक्रिय भएर लागिरहेको उल्लेख गरे । अध्यक्ष श्रेष्ठले नेपालमा ओलम्पिकलाई चिनाउने काम आफूहरुले गरेको दावी गर्दै अन्तराष्ट्रिय जगतले पनि नेपालको ओलम्पिकलाई सकारात्मक रुपमा हेरिरहेको बताए । उनले खेलकुद संघ आफैंमा स्वायत्त संस्था भएपनि राखेपले अनावश्यक हस्तक्षेप गर्ने गरेको आरोप लगाए ।
उनले केही व्यक्तिको स्वार्थका कारण ऐनले तोकेको चार वर्षमा संघको निर्वाचन हुन नदिने काम भएको जिकिर गरे । श्रेष्ठले एसियन गेम्समा सहभागीताका लागि समेत खेलकुद मन्त्रालयसंग छलफल गर्ने जानकारी दिए ।

