Harsamaya
रिलायन्स स्पिनिङमा तीन करोड पाँच लाख ४० हजार २१८ कित्ताको आवेदन 
ग्राफिक्सः हर समय/harsamaya

काठमाडौं- रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) आवेदन प्रक्रिया पूरा भएको छ । 

कम्पनीले आमसर्वसाधारण, वैदेशिक रोजगार र म्युचुअल फन्डतर्फ निष्कासित १० लाख ९८ हजार १६२ कित्ताको लागि तीन करोड पाँच लाख ४० हजार २१८ कित्ता आवेदन परेको जनाएको छ । जसमा २५ अर्ब ११ करोड ४८ लाख ५१ हजार ५३२ रुपैयाँ जम्मा भएको छ ।

रिलायन्सले आइतबार विज्ञप्ति जारी गर्दै बुक बिल्डिङ विधिबाट निष्कासित आईपीओमा यति ठूलो संख्यामा आवेदन पर्नुलाई समग्र नेपाली पुँजी बजारको लागि कोसेढुंगा भनेको छ । 'नेपालको सबैभन्दा ठूलो रोजगारदाता तथा निर्यातमूलक कम्पनीको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित रिलायन्स स्पिनिङ मिल्सप्रति तपाईंहरूले व्यक्त गर्नुभएको विश्वास समग्र नेपाली पुँजी बजारको लागिसमेत कोसेढुंगा सावित भएको छ,' कम्पनीका कर्पोरेट अफेयर्स एन्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैह्रेद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ । 

छोटो समयावधिमै आवश्यकभन्दा अत्यधिक संख्यामा सेयरको माग गरी आईपीओ प्रक्रियामा उल्लेख्य सहभागिता जनाउनु भनेको केबल लगानी गर्ने तपाईंहरूको उत्कृष्ट चाहनामात्र होइन, कम्पनीप्रति प्रकट विश्वास, भरोसा र समर्थन रहेको कम्पनीको बुझाइ छ । यसले आगामी यात्राको लागि थप ऊर्जा र बल मिलेको कम्पनीको भनाइ छ । 

रिलायन्सले आवेदक लगानीकर्ता, विभिन्न क्षेत्रबाट सहयोग तथा सद्भाव प्रदान गरी सेयर निष्कासन कार्यलाई सफल बनाउने शुभेच्छुक, एसबीए सदस्य बैंक तथा वित्तीय संस्थाहरू, नियामक निकायहरू, सञ्चारकर्मी र सरोकारवालालाई आगामी दिनमा सहयोग तथा सद्भावको अपेक्षासहित धन्यवाद व्यक्त गरेको छ ।

आमसर्वसाधारणतर्फ सबैभन्दा बढी २९.९२ गुणा बढी आवेदन परेको छ । उक्त समूहतर्फ निष्कासित नौ लाख २४ हजार ७६८ कित्ता सेयरको लागि पाँच लाख ३९ हजार ५४५ आवेदकले दुई करोड ७६ लाख ७१ हजार १२० कित्ताको आवेदन परेका कम्पनीद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उक्त समूहमा २२ अर्ब ७१ करोड २४ लाख ५५ हजार २९६ रुपैयाँ जम्मा भएको छ । वैदेशिक रोजगारीतर्फ एक लाख १५ हजार ५९६ कित्ताको लागि १९ लाख ४४ हजार ३३० कित्ता (१६.८२ गुणा) सेयरको आवेदन परेको छ, जसको लागि आवेदकबाट एक अर्ब ५८ करोड ५९ लाख ६ हजार ६४ रुपैयाँ जम्मा भएको छ । त्यसैगरी म्युचुअल फन्डतर्फ ५७ हजार ७९८ कित्ताको लागि ९ लाख २४ हजार ७६८ (१६ गुणा) आवेदन परेकोमा ८० करोड ६४ लाख ९० हजार १७२ रुपैयाँ जम्मा भएको छ ।

रिलायन्सले जारी पुँजी एक अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्कासन गरेको छ । बुक बिल्डिङ विधिबाट प्रथम चरणमा ४० प्रतिशत अर्थात् सात लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताको लागि बाँडफाँट भइसकेको छ ।

सर्वसाधारण समूहमा निष्कासित ६० प्रतिशत (११ लाख ५५ हजार ९६० कित्ता) मध्ये वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक र म्युचुअल फन्डतर्फको सेयर बाँडफाँट भइसकेको छ भने आम–सर्वसाधारण समूहतर्फको सेयर बाँडफाँटको प्रक्रियामा छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update