Harsamaya
 भालु नियन्त्रणमा लिन फलामको खोर 
भालुको तस्विर ।

ताप्लेजुङ - फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतंक बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै आएको छ ।  गत सातामा भालुको आक्रमणबाट आठ खसीबाख्रा मरेका छन्भने तीनवटा घाइते भएका छन् ।
 
हाङ्देवास्थित बुङ्कुलुङको धुपौरे क्षेत्रमा यसरी भालुले क्षति पुर्याएपछि मङ्गलबार डिभिजन वन कार्यालयको अगुवाइमा फलामे खोर राखिएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष सुरज ओझाले जानकारी दिए । 

स्थानीय किसान नारायणप्रसाद भण्डारीको भेडाबाख्रा राखिएको खोर नजिकै फलामे खोर राखिएको हो । उनको खोरमा भालु पटकपटक प्रवेश गरेकाले पुनः आउन सक्ने भएकाले यहाँ खोर राखिएको अध्यक्ष ओझाले बताए ।

निमित्त डिभिजन वन अधिकृत ललितकुमार यादव, फेकोफनका जिल्ला अध्यक्ष ओझा, वडाध्यक्ष लक्षुमन गुरुङ र नेपाल प्रहरीका प्रतिनिधिसहितको टोली हाङ्देवा गएको थियो ।

स्थानीयवासीका अनुसार सोमबार राति नारायण भण्डारी र पदम गुरुङका दुईवटा बाख्रा भालुले खाएको छभने तीनवटा घाइते भएका छन् । यसअघि गत पुस ४ गते भगिमान गुरुङका चारवटा बाख्रा भालुको आक्रमणमा मरेका थिए भने मङ्सिर २८ गते नारायण गुरुङको एउटा भेडा भालुले खाएको थियो ।

भालुको आतंक बढेसँगै स्थानीयले घाँस, दाउरा संकलन र अलैँचीखेती गर्न जङ्गल जान सकिरहेका छैनन् । वडाध्यक्ष लक्षुमन गुरुङले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छन् । 

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update