काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वरिष्ठ (एसएसपी) उपरीक्षक लालबाबु गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
मंगलबार आयोगले नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक गिरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी विभिन्न लाभ लिइ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।
गिरीले पेस गरेको विहार स्कूल एक्जामिनेसन बोर्ड पटनाबाट एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आयोगको दाबी छ ।
सोही शैक्षिक योग्यताको प्रयोग गरी उनले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पीसीएल इन नर्सिङ २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट पोस्ट बेसिक ब्याचलर इन नर्सिङको योग्यता प्राप्त गरेका थिए ।
उक्त शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेस गरी मिति २०५२ पुस १६ मा नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (प्राविधिक) पदमा शुरु नियुक्ती लिई तिनै झुट्टा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी हालको प्रहरी वरिष्ठ उपरीक्षक पदमा समेत बढुवा लिएको साथै बिभिन्न तालिम र सुविधाहरु लिएको देखिएकोले निज लालबाबु गिरीले नेपाल प्रहरीको पदमा नियुक्ति भई ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरी साविक भ्रष्टाचार गरेको आरोपपत्रमा भनिएको छ ।

