Harsamaya
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ
अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री एवं उज्यालो पार्टीका नेता कुलमान घिसिङ ।

रामेछाप - अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री एवं उज्यालो पार्टीका नेता कुलमान घिसिङले आगामी फागुन २१ गते हुने निर्वाचनबाट देशमा नयाँ दलहरूको सरकार बन्नुपर्ने बताएका छन् ।

गृह जिल्ला रामेछापको मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशको स्थिरताका लागि चुनाव अनिवार्य रहेको बताए ।

‘चुनाव हुनैपर्छ, देशको स्थिरताका लागि चुनाव अनिवार्य छ तर यो निर्वाचनबाट नयाँ नेतृत्व आउनु पर्छ, यदि यो निर्वाचनबाट पनि पुरानै दलहरू नेतृत्वमा आउने हो भने त्यसको के अर्थ हुन्छ ?’ उनले भने ।

आफूले मात्र चुनाव जित्नु ठुलो कुरा नभएको उल्लेख गर्दै उनले देशभरबाट उज्यालो नेपाल पार्टीका नेताहरूले बहुमत, दुई तिहाइसहित चुनाव जितेमा देशको विकास सम्भव हुने दाबी गरे ।

घिसिङले आगामी निर्वाचनबाट पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी जस्ता पूराना दलका नेताहरू नै सरकारको नेतृत्वमा पुगेमा पछिल्लो समय ‘जेनजी विद्रोह’ले सिर्जना गरेको राजनीतिक अवस्थाको औचित्य समाप्त हुने उनले बताए । चुनावपछि बन्ने सरकार देशका लागि अत्यन्तै महत्त्वपूर्ण हुने उनको ठहर छ ।

उज्यालो नेपाल पार्टीलाई बहुमत दिलाउने गरी सक्रिय हुन निर्देशन दिँदै उनले देश निर्माणका लागि प्रधानमन्त्री सही र क्षमतावान् हुनुपर्नेमा जोड दिए । ‘हिजोका नेताहरूले लिडरसिप गरेनन्, राजनीति मात्रै गरे,’ उनले भने,‘हामी राजनीति गर्न होइन, देशको समृद्धिका लागि काम गर्न आएका हौँ ।’

भाषण र गफले मात्र देश विकास नहुने बताउँदै घिसिङले पुराना शक्तिहरूलाई परास्त गर्न नयाँ शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नु पर्ने बताए । उज्यालो नेपाल पार्टी छोटो समयमै देशभर फैलिएको दाबी गर्दै उनले नयाँ नेतृत्वप्रति जनतामा आशा बढ्दै गएको बताए ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update