Harsamaya
कतार उडे खगेन्द्र र रुद्रकली

लुम्बिनी - नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई वटा हात्ती आज कतार पठाइएको छ । चितवन सौराहाबाट सोमबार खोरसहितको ट्रक चढाएर भैरहवा ल्याइएका दुईवटा हात्तीलाई आज कतार एयरवेजको कार्गो चार्टर विमानबाट कतार पठाइएको हो । 

कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर कार्गो जहाजबाट आज दिउँसो ५ बजे खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट पठाइएको हो । यसअघि विसं २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरे अनुसार ती हात्ती पठाइएको हो । 

चितवनस्थित सौराहामा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएका रूद्रकली र खगेन्द्रप्रसाद नामका हात्ती कतारलाई दिन छनोट गरिएको थियो । सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएर हुर्किएकामध्ये पोथी हात्ती रूद्रकली ७ वर्षकी र भाले हात्ती खगेन्द्रप्रसाद ५ वर्षका थिए । 

कतार सरकारलाई उपहारस्वरूप दिने घोषणा गरिएका दुबै हात्तीलाई आज भैरहवा विमानस्थलमा कतार सरकारलाई हस्तान्तरण गरिएको थियो । दुवै हात्तीलाई सयपत्रीको माला र अबिरले बिदाइ गरिएको थियो । आज साँझ ५ बजेट हात्ती लिएर कतार एयरवेजको कार्गो विमान भैरहवाबाट उडेको थियो ।

वन्यजन्तुसम्बन्धी अन्तरराष्ट्रिय कानुन एवं नेपालको प्रचलित कानुन बमोजिमको साइटिस प्रमाणपत्र, स्वास्थ्यसम्बन्धी प्रमाणपत्रलगायत आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी विमानस्थलबाट विशेष कार्गो विमानबाट कतारको राजधानी दोहा पठाइएको हो । 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update