काठमाडौं - निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आसन्न फागुन २१ गतेको निर्वाचनको लागि आवश्यक वातावरण बनिसकेको दाबी गरेका छन् ।
मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै उनले निर्वाचनको वातावरण बनाउनुपर्यो भन्ने शब्दान्तर गरिएको बताउँदै बनिसकेको वातावरणलाई उल्लासमय बनाउन मात्र बाँकी रहेको बताए । निर्वाचन तोकिएको समयमा सम्पन्न गर्ने अठोटका साथ आयोग र सरकार जुटेको बताउँदै उनले निर्वाचन गराएरै छाड्ने दाबी गरे । उनले भने,‘राष्ट्रपतिज्यूबाट घोषणा भएको जुन निर्वाचन छ, घोषणा भएको दिनदेखि नै आयोग शून्य अवस्थामा उठेर अहिले झन्डै ७० प्रतिशतको काम सकिसकेको छ । निर्वाचन प्रक्रियाको माहौलमा गएको र वातावरण सृष्टि भइसकेको छ ।
निर्वाचनको वातावरण बनाउनुपर्यो भन्ने शब्दान्तर जुन छ त्यो त बनिसकेको वातावरणलाई उल्लासमय बनाउने मात्र हो । आयोग र सरकार अठोटका साथ लागि परेको छ । निर्वाचन समयमै सम्पन्न हुन्छ ।’
त्यस्तै निर्वाचन आयुक्त सगुन शमशेर जबराले निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउने गरी आयोगले तयारी गरिरहेको जानकारी दिए ।
विगतमा गाडी नचाहिने मान्छेहरू ओसारपसार गर्छन् भनेर सवारी आवागमनमा रोक लगाएको भन्दै यसपालि रोक नलगाउने पक्षमा आयोग पुगेको बताएका हुन् ।

