धादिङ - दैनिक पाँच घण्टा आंशिक बन्द गरि काम भइरहेको नागढुङ्गा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि खुला गरिएको छ ।
नेकपा (एमाले)को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सो सडकमा आवतजावत नरोकिएको हो । यही मङ्सिर २४ गतेबाट नागढुङ्गा–मुग्लिन सडक आयोजनाले आंशिक बन्द गरेर काम गरिरहेको छ । दुई दिनका लागि भने सडक बन्द नगरिने आयोजनाले जनाएको छ । त्यसपछि भने कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने छ ।
युवा सङ्घको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि दुई दिन सडक खुला गरिदिन आग्रह गरेका थिए ।
सडक विभागले काठमाडौं जिल्लाभित्र पर्ने नागढुङ्गा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ भने धादिङ जिल्लाभित्र पर्ने नौबिसे–मलेखु खण्डको बाङ्गेभीरमा सडक चौडा गर्ने कामलाई महत्व दिएर काम अघि बढाएको छ ।

