Harsamaya
ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
गोल्ड कार्ड ।

काठमाडौं - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ ‘ट्रम्प गोल्ड कार्ड’कार्यक्रम सुरु गरेका छन् । जसले विद्यमान ग्रीन कार्डभन्दा बढी सुविधा प्रदान गर्ने बताइएको छ ।

ह्वाइटहाउसमा बुधबार भएको एक गोलमेच कार्यक्रममा ट्रम्पले यस्तो घोषणा गर्दै यो कार्यक्रम आजदेखि औपचारिक रूपमा लागू भएको बताएका छन् । ट्रम्पका अनुसार यो गोल्ड कार्डले ठूलो शुल्क तिर्ने विदेशी नागरिकलाई छिटो भिसा दिलाउने व्यवस्था मिलाइएको छ ।

ट्रम्पले भने, ‘हामीले अहिले मात्र ट्रम्प गोल्ड कार्ड सुरु गरेका छौँ । करिब ३० मिनेटपछि वेबसाइट सञ्चालनमा आउनेछ, र यसबाट उठ्ने सबै रकम अमेरिकी सरकारको कोषमा जानेछ ।’ उनका अनुसार गोल्ड कार्ड केही हिसाबले ग्रीन कार्डजस्तै भए पनि यसले धेरै अतिरिक्त अधिकार दिनेछ ।

उनले विदेशी विद्यार्थीले अमेरिका छोड्नुपर्ने अवस्थालाई रोक्न यो कार्यक्रम उपयोगी हुने दाबी गर्दै भने,‘कम्पनीहरूले यो कार्ड खरिद गरेर विश्वविद्यालयबाट स्नातक भएका व्यक्तिलाई अमेरिकामै राख्न सक्नेछन् । भारत, चीन, फ्रान्स वा अन्य देशमा फर्किनुपर्ने विद्यार्थीहरू अब अमेरिकामा बस्न सक्नेछन् । यसका कारण कम्पनीहरू पनि अत्यन्तै सन्तुष्ट हुनेछन् ।
टिम कूकजस्ता उद्योगीका नेताहरूले यो समस्याबारे धेरै बोलेका थिए, अब यो समस्या समाधान हुनेछ ।’उनले यस कार्यक्रममार्फत अमेरिकाको राजस्वमा अर्बौँ डलर संकलन हुने विश्वसनीयता प्रकट गरे ।

ट्रम्पले फेब्रुअरीमै यो कार्यक्रमको अवधारणा सार्वजनिक गरेका थिए र सेप्टेम्बरमा उनले यसको कार्यान्वयनका लागि कार्यकारी आदेश जारी गरेका थिए । नयाँ व्यवस्थाअनुसार विदेशी नागरिकले १० लाख अमेरिकी डलर तिरेर आफ्नो भिसा आवेदन छिटो प्रक्रियामा लैजान सक्नेछन् ।

जबकि अमेरिकी कम्पनीहरूले २० लाख अमेरिकी डलर तिरेर आफ्नो आवश्यकताअनुसार विदेशी कामदारलाई स्पोन्सर गर्न सक्नेछन् । फेब्रुअरीमा ट्रम्पले गोल्ड कार्डको मूल्य ५० लाख अमेरिकी डलर राख्ने प्रारम्भिक प्रस्ताव गरेका थिए । जसले ग्रीन कार्डका सबै सुविधा मात्र होइन, अमेरिकी नागरिकता प्राप्त गर्ने मार्ग पनि खोलिदिने उनले बताएका थिए । ट्रम्पका अनुसार धनी व्यक्तिहरू यो कार्ड खरिद गरेर अमेरिका आउन आकर्षित हुनेछन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update