Harsamaya
आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस

काठमाडौं - आज  ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस ।  मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज विश्वभर अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ ।

 सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (युडीएचआर) को स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ ।

घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गरेको छ । नेपालमा यस दिवसले जनचेतना विस्तार, अधिकारको संरक्षण र न्यायपूर्ण समाज निर्माणमा थप ऊर्जा प्रदान गर्दै आएको छ ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र १९९८, नेपाल पक्षराष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धी, १९६६ मा प्रत्येक व्यक्तिको आफ्नो अधिकारका साथै अरुको अधिकारको लागि वकालत गर्न पाउने अधिकारको सुनिश्चितता गरिएको छ ।

नेपालको संविधानले विचार र अभिव्यक्तिको स्वतन्त्रता, स्वतन्त्रतापूर्वक भेला हुन पाउने स्वतन्त्रता र सङ्गठन खोल्न पाउने स्वतन्त्रताको अधिकारको सुनिश्चितता गरेको छ । नेपाल सरकारले मानव अधिकारकर्मीको सुरक्षा र संरक्षण गर्नेसम्बन्धी आदेश, २०७७ समेत जारी गरेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update