काठमाडौं - गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘हर्ष’को नयाँ गीत 'पाहुना' सार्वजनिक भएको छ । स्वर्गीय निर्देशक शिव रेग्मीको शब्द रचना र समीर/हिमालको कम्पोज तथा बसन्त सापकोटाले पुनः प्रतिवाद गरेको गीतमा गरिमा अधिकारीको स्वर छ ।
सिनेमाका मुख्य कलाकार साइमन वादीलाई फिचर्ड गरिएको गीतको भिडियोमा खगेन्द्र लामिछाने र वर्षा राउत लगायतका कलाकारलाई पनि देख्न सकिन्छ । यो सिनेमा रिलिज भएसँगै बाल कलाकार साइमनको चर्चा सिनेमावृत्तमा निकै भैरहेको छ । उनी विभिन्न हलमा पुगर दर्शकसँग साक्षात्कार समेत गरिरहेको छन् । साइमनसँगै अभिनेत्री वर्षा राउत पनि विभिन्न हलमा पुगेर प्रतिक्रिया लिइरहेकी छन् ।
विभिन्न हलमा पुग्दा दर्शकले दिने उत्कृष्ट प्रतिक्रियाले आफूलाई हर्षित बनाएको अभिनेत्री राउत बताउँछिन् । यसैबीच गत शनिबार यो सिनेमालाई पोखरा एभेन्जर्सको टिमले समेत हेरेको थियो । उनीहरुले गेमको प्रेसरका बीच पनि यस्तो राम्रो सिनेमा हेर्न पाउँदा रिफ्रेसमेन्ट मिलेको प्रतिक्रिया दिएका थिए ।
यो सिनेमालाई एकता पौडेलले निर्देशन गरेकी हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । उनी स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन् ।

