Harsamaya
हेटौँडामा सडक विस्तार: ५३१ भौतिक संरचना भत्काइने
हेटौंडा सडकखण्ड ।

काठमाडौं - बाग्मती प्रदेशको राजधानी रहेको हेटौँडा मुख्य बजार क्षेत्रको सडक विस्तारका लागि यही मङ्सिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काउने तयारी गरिएको छ । 

सडक सीमाभित्र पर्ने स्थायी र अस्थायी घरटहरा लगायतका संरचना हटाउन मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गरे पनि स्थानीयले चासो नदेखाएपछि सडक डिभिजन कार्यालय हेटौँडाले मङ्सिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काउने तयारी गरेको हो । 

सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौँडामा सडक विस्तार गर्दा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी दुवै तर्फका ५३१ घरटहरा तथा संरचना भत्काइने छन् । 

पहिलो चरणमा पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५ रातोमाटेदेखि हेटौँडा बुद्ध चौक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथअन्तर्गत बुद्ध चौकदेखि सामरी पुलससम्मको सडक सीमा खाली गरिने प्रमुख अधिकारीले बताए । 

पटक पटक रोकिँदै आएको सडक विस्तारको काम यसपटक अगाडि बढाइने र करिब साढे नौ किलोमिटर सडक क्षेत्रभित्र रहेका नेपाल बैंक लिमिटेड तथा हिमालयन बैंक र तीनवटा पेट्रोल पम्प लगायतका भौतिक संरचना हटाउनुपर्ने प्रमुख अधिकारीको भनाइ छ । 

विस्तार हुने सडक सीमाक्षेत्र पर्ने तीनवटै पेट्रोल पम्पलाई अन्य स्थानमा स्थानान्तर नभएसम्म पेट्रोलियम पदार्थ उपलब्ध नगराउन सडक डिभिजन कार्यालय हेटौँडाले नेपाल आयल निगमलाई पत्राचार गरिसकेको छ । मुख्य सडकको दायाँबायाँ दुवैतर्फको संरचना हटाउन पटकपटक सूचना जारी गर्दासमेत स्थानीयले अटेर गरेपछि स्थानीय प्रशासनले त्यस्ता संरचना हटाएर सडक विस्तारको काम अघि बढाउन पहल थालेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको पहलमा विशेष ‘टास्क फोर्स’ गठन गरी सडक विस्तारलाई अघि बढाएको छ । सडक डिभिजन कार्यालय हेटौँडाका सूचना अधिकारी इञ्जिनियर यादव सुवेदीको संयोजकत्वमा गठित टास्क फोर्सले पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत सडक सीमा अतिक्रमण गरी बनेका स्थायी तथा अस्थायी संरचनाको नाप नक्सा र रेखांकन गरी रङ लगाउने काम गरिरहेको छ । 

गठित विशेष टास्क फोर्स समितिमा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण र दूरसञ्चार प्राधिकरण लगायतका सरोकारवाला निकायका प्रतिनिधि सदस्य छन् । 

टास्क फोर्सले हेटौँडा सडक विस्तारका लागि एसियाली विकास बैंक (एडिबी) बाट स्रोत सुनिश्चित  भइसकेकाले सडक विस्तारको कामलाई तीव्र रुपमा अघि बढाइने प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताउए । 

उनले सडक विस्तारका क्रममा विद्युत् खानेपानी, टेलिफोन लगायतका अत्यावश्यक सेवा अवरोध नहुने गरी सरोकारवाला निकायसँग निरन्तर समन्वय गरी काम अघि बढाउने तयारी भएको बताए । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचौक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचौकदेखि सामरी पुलसम्मको सडकखण्डमा सडकको मध्य भागबाट दायाँबायाँ २५-२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचना १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले गत शुक्रबार सार्वजनिक सूचना जारी गरिसकेको छ । 

तोकिएको समय सीमाभित्र धनीले त्यस्तो संरचना नहटाए सडक डिभिजन कार्यालयले भत्काएर हटाउने र त्यसमा लाग्ने सम्पूर्ण लागत खर्च सम्बन्धित व्यक्तिबाटै धनीमा असुलउपर गर्ने जनाएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update