सिन्धुपाल्चोक- नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका छन् । शनिबार भएको निर्वाचनमा दुवै क्षेत्रबाट प्रतिनिधि चयन भएका हुन् । राति अबेर सकिएको मतगणनामा १७ जना निर्वाचित भएका छन् । अन्तिम मत परिणाम अनुसार खुला, महिला र युवा गरी तीन कोटाबाट प्रतिनिधि चयन भएका हुन्।
क्षेत्र नं. १ बाट पार्टीका पूर्व अध्यक्ष तथा लिसङ्खुपाखर गाउँपालिकाका पूर्व अध्यक्ष कमल नेपाल १०६० मतसहित अग्र स्थानमा विजयी भएका छन्। यसै गरी पूर्व वडाध्यक्ष दिलकुमार लामा ले ९३९ मत ल्याउँदै दोस्रो स्थानमा रहे।
त्यस्तै जुगल गाउँपालिकाका पूर्व अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका पूर्व अध्यक्ष र हाल एमाले सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठ ९३२ मतसहित तेस्रो स्थानमा विजयी भए। यसबाहेक प्रेम लामा ९२२ मत सहित विजयी हुँदा ९२१ मत सहित प्रदीप पौडेल पनि महाधिवेशन प्रतिनिधि चुनिए ।
महिला तर्फ बाह्रबिसे नगरपालिकाकी पूर्व उपमेयर सुशीला पाख्रिन ११४३ मतसहित सर्वाधिक मत ल्याएर विजयी भइन्। उनपछि भोटेकोसी गाउँपालिकाकी पूर्व उपाध्यक्ष दाबुटी शेर्पा ९२० मतसहित निर्वाचित भइन्। त्यस्तै कमला कायस्थले ८५३ मत ल्याएर विजयी भइन्। उनी बलेफि गाउँपालिकाको पूर्व उपाध्यक्षसमेत हुन् । युवा कोटाबाट आङदोर्जे शेर्पा ९६१ मत ल्याउँदै निर्वाचित भएका छन्।
यता, प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा खुला तर्फ सबैभन्दा धेरै १११२ मत ल्याउँदै कृष्णगोपाल तामाङ विजयी भए । तामाङ हाल एमाले सिन्धुपाल्चोकका सचिव तथा पूर्व जिल्ला समन्वय समिति अध्यक्ष समेत हुन्। दोस्रो स्थानमा ११०३ मतसहित टासी लामा रहे । लामा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष हुन्।
त्यस्तै १०५२ मत ल्याएका हस्तबहादुर पण्डित तेस्रो स्थानमा परे। पण्डित एमाले सिन्धुपाल्चोकका पूर्व अध्यक्ष तथा २०७९ साल प्रदेशसभा क्षेत्र २(ख) का उम्मेदवार पनि हुन्। चौथो स्थानमा मित्रलाल चौलागाईं परे, जसले ८९९ मत प्राप्त गरे।
महिला तर्फ सुनिता पराजुली र बालकुमारी सापकोटा विजयी भए । पराजुलीले १ हजार १ मत प्राप्त गर्दा सापकोटाले ७८२ मत प्राप्त गरिन् । सापकोटा जिल्ला समन्वय समितिको पूर्व उपप्रमुख थिइन् । युवा तर्फ भने हिरा चौलागाईं प्रतिनिधिको रूपमा चयन भएका छन् । ४० वर्षमुनि कोटाबाट चौलागाईंले ७३१ मत ल्याउँदै प्रतिनिधि बनेका हुन् । दलिततर्फ मथुरा विक सर्वसम्मत चयन भएका थिए ।
क्षेत्र १ मा २०६३ र २ मा १७४४ मत खसेको थियो । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा एमालेका विद्या-ईश्वर टिम बलियो रूपमा प्रतिनिधिमा चयन हुँदा २ मा केपी ओली टिमका बढी चुनिएका छन् । एमालेले दुवै क्षेत्रमा निर्वाचनमार्फत प्रतिनिधि चयन गरेको हो । पछिल्लो समय गुटगत स्वार्थमा लाग्दा जिल्लामा बलियो देखिएको एमाले कमजोर बन्दै गएको छ ।

