सिन्धुपाल्चोक - नेपाल प्रजातान्त्र सेनानी संघ बागमती प्रदेशले इन्द्रावती गाउँपालिकाका दुई जना अग्रज नेताहरूलाई सम्मान गरेको छ। नेपाली कांग्रेसमा २०४६ सालसम्म सक्रिय योगदान पुर्याएका व्यक्तिहरूको पहिचान गर्दै सेनानी संघले विशेष सम्मान प्रदान गरेको हो।
आज सम्मानित हुनेमा हिराकाजी श्रेष्ठ र कृष्णभक्त हिमाल रहेका छन्। यसअघि डिल्ली राम नकर्मी र घनश्याम भट्टराईलाई सम्मान गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सेनानी संघका केन्द्रीय सदस्य राजेन्द्रमान ताल्चाभडेलले यसअघि पनि जिल्ला कार्यसमितिले अशक्त तथा अस्वस्थ प्रजातान्त्रिक सेनानीहरूलाई सम्मान गर्ने परम्परा रहेको बताउँदै उनले ‘कांग्रेसप्रति निष्ठा र समर्पणजन्य योगदान गर्ने व्यक्तिहरूलाई समयमै कदर गर्नु आवश्यक रहेको बताए ।
उनले नवलपुर क्षेत्रलाई कांग्रेसको केन्द्रविन्दु भन्दै संगठनमा नयाँ जागरण आवश्यक रहेको औंल्याए ।
त्यसैगरी इन्द्रावती–४ कांग्रेसका कोषाध्यक्ष बद्रीनाथ सापकोटाले ४६ सालभन्दा अगाडि कांग्रेसमा जीवन समर्पण गरेका पात्रहरूको खोजी र सम्मान गर्नु सराहनीय कदम भएको बताए। ‘यस्ता कामले पार्टीभित्र प्रेरणा र उत्साह थपिन्छ, त्यसैले निरन्तरता दिनुपर्छ,’ भनाले भने ।
कार्यक्रममा प्रजातान्त्रिक सेनानी संघ सिन्धुपाल्चोकका अध्यक्ष रुद्र लोचन आचार्य, केन्द्रीय प्रतिनिधि विश्वराम श्रेष्ठ, इन्द्रावती गाउँपालिका कांग्रेसका सदस्य अजय तामाङ लगायतको उपस्थिति थियो।

