काठमाडौं - एनपिएलमा हालसम्मको अंकतालिका हेर्दा सुदूरपश्चिम अपराजित टोलीका रूपमा देखिएको छ । उसले लगातार चार खेल जितेर आठ अंकका साथ शीर्ष स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको साविक उपविजेतासमेत रहेको सुदूरपश्चिम ‘प्लेअफ’ नजिक छ ।
गत सिजनको विजेता जनकपुर हालसम्म अंकविहीन छ । अनिल शाह कप्तानीको जनकपुरले तीनवटै खेल हारेको छ । अंकविहीन जनकपुरको ‘प्लेअफ’को बाटो साँघुरो बन्दै गएको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर चार खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ । उसको ‘प्लेअफ’को बाटो फराकिलो छ ।
कुशल मल्लले हाकेको चितवनले तीन खेलबाट चार अंक जोडेको छ । तेस्रो स्थानमा रहेको चितवन पनि ‘प्लेअफ’ मा पुग्ने सुरसारमा छ ।
अंकतालिकाको चौथो स्थानमा रहेको काठमाडौँले चार खेलमा दुई खेलमात्रै जितेको छ । करण केसीले सम्हालेको काठमाडौँलाई ‘प्लेअफ’ मा स्थान सुरक्षित गर्न बाँकी खेल जित्नुपर्ने हुन्छ ।
समान तीन खेलबाट दुई अंक मात्रै जोडेका सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली र कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरा क्रमशः पाचौँ र छैटौँ स्थानमा छन् । प्लेअफको दौडमै रहेका यी दुवै टोलीले पनि बाँकी खेल जित्नैपर्ने दबाब छ ।
सातौँ स्थानमा रहेको रोहित पौडेलको कप्तानीको लुम्बिनी लायन्सले चार खेलमा एक खेल मात्रै जितेको छ । बाँकी खेलमा जीत हात पार्दै लुम्बिनी ‘प्लेअफ’ को बाटो तय गर्ने लक्ष्यमा छ, तर लयबाहिर रहेको लुम्बिनीलाई जीत निकाल्न कठिन छ ।
जारी प्रतियोगितामा सबैभन्दा बढी रन हिर्काउनेमा चितवनमा आबद्ध विदेशी खेलाडी रवी बोपरा छन् । उनले १८३ रन बनाएका छन् । बलिङतर्फ भने विराटनगरका कप्तान सन्दीप लामिछाने नौ विकेट लिएर पहिलो स्थानमा छन् ।

