Harsamaya
एनपिएलमा हालसम्म चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’
कर्णालीका विदेशी खेलाडी मार्क वाट ।

काठमाडौं - कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा हालसम्म  १४ खेल समाप्त भएका छन् । चौध खेल समाप्त हुँदा १४ अर्धशतक र एक शतक प्रहारको ‘रेकर्ड’ बनेको छ । 

एनपिएलमा हालसम्म नेपाली खेलाडीले शतक प्रहार गर्न सकेका छैनन् । जारी सिजनमा प्रहार भएका १४ अर्धशतकमध्ये पाँच अर्धशतक नेपाली खेलाडीको नाममा छ । बाँकी सबै विदेशी खेलाडी छन् । 

सबैभन्दा बढी अर्धशतक हिर्काउने खेलाडीमा सुदूरपश्चिम रोयल्सका तीन, विराटनगर किंस, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्सका दुई/दुई खेलाडी छन् । यस्तै, चितवन राइनोज, कर्णाली याक्सका एक/एक खेलाडी रहेका छन् । व्यक्तिगत रूपमा सबैभन्दा बढी चितवनका विदेशी खेलाडी रवी बोपराले तीन अर्धशतक पूरा गरेका छन् । 

यस्तै, पोखराका कप्तान तथा नेपाली क्रिकेट टोलीका ‘ओपनर ब्याटर’समेत रहेका कुशल भुर्तेलले दुई अर्धशतक पार गरेका छन् । 

सुदूरपश्चिम टोलीका नेपाली खेलाडी विनोद भण्डारी, विदेशी खेलाडीद्वय हर्मित सिंह, जोश ब्राउन, जनकपुरमा आबद्ध नेपाली खेलाडी आसिफ शेख, विदेशी खेलाडी वायन पार्नेल, विराटनगर किंग्सका नेपाली खेलाडी लोकेश बम, विदेशी खेलाडी मार्टिन गुप्टिल, कर्णालीका प्रियान्क पन्चालले एक/एक अर्धशतक प्रहार गरेका छन् । 

कर्णालीका विदेशी खेलाडी मार्क वाटमात्रै जारी प्रतियोगितामा शतक हिर्काउने एकमात्र खेलाडी हुन् । लुम्बिनीविरुद्ध ११४ रनको अविजित इनिङ खेलेका वाटले ४१ बलमै शतक पूरा गरे । उनी एनपिएलमा सबैभन्दा छिटो शतक बनाउने ब्याटरसमेत हुन् । वाट एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने ब्याटरसमेत बने । यसअघि प्रतियोगिताको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाएका थिए । गत वर्ष लुम्बिनीविरुद्ध नै गौसले १०४ रनको शतकीय इनिङ खेलेका थिए । यस क्रममा गौसले ५४ बलमा शतक बनाएका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update