काठमाडौं - आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ । हरेक वर्ष २५ नोभेम्बरको दिनलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको रूपमा मनाइने गरिएको छ ।
संयुक्त राष्ट्र सङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरे अनुरूप हरेक वर्ष आजकै दिन यो दिवस मनाउने हो । यस वर्ष महिला हिंसा अन्त्य दिवसको ४७ औँ श्रृखला हो ।
नेपालमा पनि २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन सुरु गरिएको हो । यस दिवसलाई नेपालमा पनि सोह्र दिने अभियानको रूपमा २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाउने गरिएको छ ।
प्रत्येक वर्ष महिला हिंसाविरुद्धको दिवसलाई महिला अधिकारकर्मीले भव्य रूपमा मनाए पनि र सरकारले विभिन्न प्रतिबद्धता जाहेर गरे पनि महिला हिंसाको अवस्था भने ज्युँका त्युँ छन् । अझै पनि महिलाहरू आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपले विभेद करणमा परेका छन् भने शारीरिक र यौनिक हिंसाका सिकार भैरहेका छन् ।
विश्वमा कुनै न कुनै समयमा पुरुष प्रधान नेतृत्व भएकाले महिलामाथि हुने हिंसाको स्वरूप र प्रारूप, तौर र तरिकाका अनेक रूपहरू आइरहेका हुन्छन् । महिला हिंसा बाहिर मात्र होइन, घरेलु हिंसाका रूपमा पनि रहेको हुन्छ । यसको अन्त्य आजको समाज र विश्वको आवश्यकता हो ।
अहिलेको समयमा महिलाहरू भोग्ने डिजिटल हिंसा पनि बढ्दै गएको छ भने यसको उदाहरण नेपाली समाजमा पर्याप्त भेट्न सकिन्छ । सरकारले डिजिटल हिंसा रोक्ने कडा कानुन बनाउनु पर्छ, प्रविधिक कम्पनीहरूले आफ्नो प्लेटफर्म सुरक्षित बनाउनुपर्छ, दातृ निकायहरूले नारीवादी सङ्गठनलाई आवश्यक सहयोग र स्रोत उपलब्ध गराउनुपर्छ । यसै प्रयासले मात्र महिला माथि हुने डिजिटल हिंसा अन्त्य गर्न सकिन्छ ।

