Harsamaya

बर्दिया - देश भरी नै रासायनिक मलको अभावमा भइरहेको समयमा बर्दियाको बाँसगढी नगरपालिकाले प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ । आगामी वैशाख देखि प्राङ्गारिक मल उत्पादनको सुरुवात गर्ने गरी नगरपालिकाले मल कारखाना निर्माण गरिरहेको छ । 

बाँस गढी नगरपालिका वडा नं ४ मदाहा नजिक रहेको गौशालाको छेउमा प्राङ्गारिक मल कारखाना निर्माणाधीन रहेको छ । नगरपालिकाको तीन करोड र प्रदेश सरकारको एक करोड गरी जम्मा चार करोडको लगानीमा प्राङ्गारिक मल कारखाना निर्माण थालिएको हो ।

२०८१ फागुन देखि निर्माण सुरु गरिएकोमा आगामी चैत महिना सम्म निर्माण सम्पन्न हुने छ । आगामी वैशाख देखि उत्पादन सुरु गरी  धान र मकैको सिजनमा कृषकहरूलाई मल उपलब्ध गराउने योजना रहेको बाँस गढी नगरपालिकाका नगरप्रमुख खडकबहादुर खड्काले बताए ।

नगरपालिका भित्र कृषकहरूलाई सहुलियत मूल्यमा मल उपलब्ध गराउने र मल बचेमा अरू छिमेकी नगरपालिकामा पनि बिक्री गर्ने उनले बताए । 

कारखानाका लागि आवश्यक पर्ने गोबर गौशालाबाट उपलब्ध हुने, गौशालाले नपुगेको गोबर विभिन्न फर्मबाट खरिद गरिने योजना छ । थप कच्चा पदार्थका लागि विभिन्न सामुदायिक वनबाट झारपात ल्याएर मल बनाउने योजना रहेको नगरप्रमुख खड्काले बताए ।

कारखाना सञ्चालन पछि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा युवाहरूले रोजगारी पाउने छन् । घर गाउँमा खेर गई रहेका, सामुदायिक वनमा रहेका घाँस र झारपात सङ्कलन गरेर कारखानामा बिक्री गरेर पनि नगर बासी स्वरोजगार बन्ने छन् । बाँस गढी नगरपालिकामा उत्पादन हुने कुहिने फोहोर पनि सङ्कलन गरेर कारखानामा खपत गरिने उनले बताए । 

कारखाना नगरपालिका, नगरपालिका भित्रका सहकारी र नगर बासीहरू मिलेर सञ्चालन गर्ने योजना बनाइएको छ । ‘सञ्चालनका लागि कार्यविधि समेत बनाउँदै छौँ,’ नगरप्रमुख खड्काले भने, ‘कार्यविधि बनाएर व्यवस्थित रूपमा कारखाना चलाउने योजना रहेको छ।’ सुरुमा दैनिक पाँच हजार मेट्रिक टन प्राङ्गारिक मल उत्पादन गर्ने योजना रहेको छ । 

नेपाल सरकारले पठाउने रासायनिक मलमा मात्र भर पर्दा कृषकहरूले दुःख पाइरहेका छन् । पर्याप्त मात्रामा रासायनिक मल नहुँदा खाद्यान्न उत्पादन घट्दो छ । पछिल्लो समयमा गाई बस्तु पाल्ने कृषक कम हुँदै गइरहेका र प्राङ्गारिक मलको अभावले खेतबारीको गुणस्तर घट्दै गइरहेको हुँदा कारखाना स्थापना गरी मल उत्पादन गर्न लागिएको बाँस गढी नगरपालिकाकी नगर उपप्रमुख इन्दिरा चौधरीले बताए ।

उनले मल कारखाना स्थापना गर्नुको मुख्य उद्देश्य भनेको कृषकलाई अर्गानिक खेती तर्फ आकर्षित गर्नु पनि हो । मल उत्पादन पछि बिस्तारै अर्गानिक विषादीहरू पनि उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । 

प्राङ्गारिक मल कारखाना सञ्चालन भएपछि नगरपालिकाभरि मलको अभाव नहुने र नगर बासीलाई रोजगारी पनि हुने बाँस गढी नगरपालिका वडा ४ मदाहाका भगवती थारूले बताए ।

‘लामो समय पछि नगरपालिकाले राम्रो काम गरेको छ’ उनले भने, ‘अब नगरपालिका अर्गानिक कृषि खेतीतर्फ अगाडि बढ्छ कि भन्ने आशा जागेको छ ।’

 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update