Harsamaya
 सुदूरपश्चिमले दियो पोखरासामु १९४ रनको लक्ष्य
सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रसिंह ऐरी ।

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) को जारी खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्ससामु जितका लागि १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिला टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९३ रन बनायो । 

सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए । 

पहिलो विकेटका लागि ब्राउन र विनोदले १०८ रनको शतकीय साझेदारी गरे । पोखराका लागि जिम्मी निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले दुई/दुई विकेट लिए । 

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । उसले यसअघि काठमाडौं गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरूआत गरेको थियो । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा दोस्रो खेल खेल्दै छ । पहिलो खेल विराटनगर किङ्ससँग पराजित भएको पोखरा आजको खेल जित्ने दाउमा छ ।

नेपाल क्रिकेट संघको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update