Harsamaya
विद्रोहबाट बनेको सरकारलाई पूर्ण समर्थन रहेको प्रधानमन्त्रीसँग विप्लवको भनाई 
तस्वीरः प्रम कार्कीको सचिवालय

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री सुशीला कार्की भेटवार्ता गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि उपस्थिति थिए ।

भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक परिस्थिति र आगामी निकासका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, विप्लवले वर्तमान सरकारलाई आफूहरूको पूर्ण साथ र समर्थन रहेको बताएका थिए । “विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ छ,” उनको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ ।

विप्लवले अहिलेको राजनीतिक परिस्थितिको सुरक्षित निकासका लागि राजनीतिक दलहरूबिचको समझदारीलाई अझ फराकिलो र बृहत् बनाउँदै लैजान सुझाव दिएका थिए ।

उनले जेनजीले उठाएका मागलाई सम्बोधन गर्नुपर्नेमा पनि जोड दिए । “अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजाऔँ,” विप्लवको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ, “जेनजीले आन्दोलनका क्रममा उठाएका जायज मागहरू पूरा गरौँ ।”

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update