एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी अभियानका क्रममा कडा आलोचना गरेका न्युयोर्कका मेयर–निर्वाचित जोहरान ममदानीलाई आगामी शुक्रबार भेट्ने घोषणा गरेका छन् ।
राष्ट्रपति ट्रम्पले आफ्नै ट्रुथ सोसल प्लेटफर्ममार्फत ममदानीलाई ‘कम्युनिस्ट’ भनेर दोहोर्याएको आरोप बीच ‘शुक्रबार, नोभेम्बर २१ मा ओभल अफिसमा बैठक हुनेछ’ भनी पुष्टि गरेका हुन् ।
मेयर–निर्वाचित ममदानीका प्रवक्ता डोरा पेकेकले पनि विज्ञप्ति जारी गर्दै बैठक सुनिश्चित भएको जानकारी दिए । उनका अनुसार परम्पराअनुसार मेयर–निर्वाचितले वासिङ्टनमा राष्ट्रपतिसँग सार्वजनिक सुरक्षा, आर्थिक सुरक्षा तथा दुई हप्ताअघि न्युयोर्कका १० लाखभन्दा बढी नागरिकले चुनावमार्फत दिएको किफायती जीवनशैलीसम्बन्धी जनादेशबारे विस्तृत छलफल गर्ने तयारी गरेका छन् ।
ट्रम्प र ममदानी दुवै न्युयोर्कको क्वीन्स बरोमै हुर्किनुभएको भए पनि उहाँहरूको राजनीतिक र विचारधारात्मक समानता यत्तिमै सीमित देखिन्छ ।
राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालका उपलब्धि उल्लेख गर्दा वाल स्ट्रिटका रेकर्ड तोड्ने लाभलाई मुख्य रूपमा प्रस्तुत गर्दै आएका छन् । तर ममदानीको आर्थिक दृष्टिकोण भने त्यसभन्दा व्यापक छ, जसले म्यानहट्टनका बुलिश वित्तीय बजारभन्दा पर रहेका करिब ८० लाख न्युयोर्कवासीले भोगिरहेको किफायती जीवनयापनको चुनौतीलाई प्राथमिकता दिन्छ ।

