Harsamaya
अक्कल कोपिला फाउन्डेसन द्वारा मुगुका १९० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

मुगु - मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ मा अवस्थित दुई विद्यालयका १ सय ९० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको छ । अक्कल कोपिला फाउन्डेसनको आर्थिक सहयोगमा  १९० विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

ग्रामीण भेगका विद्यार्थीहरूको नियमित अध्ययन-अध्यापनमा सहजता पुर्‍याउने उद्देश्यले स्टेशनरी वितरण गरिएको फाउन्डेसनले जनाएको छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालय, पापुका ८५ जना विद्यार्थी र नेपाल राष्ट्रिय आधारभूत विद्यालय, छायलका १०५ जना विद्यार्थीलाई कपि कलम सहित विभिन्न स्टेशनरी सामाग्री हस्तान्तरण गरिएको फाउन्डेसनले जनाएको छ ।

विद्यार्थीहरूलाई अध्ययन सामग्रीको अभावका कारण चुनौती भोगिरहेका विद्यार्थीहरूलाई सहयोगले प्रेरणा मिलेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय पापुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर रोकायाले बताए । उनले भने, स्टेशनरीको अभावले पढाइ प्रभावित हुने समस्या थियो । सहयोगपछि विद्यार्थीहरू उत्साहित भएर कक्षामा सहभागी हुन थालेका छन् ।

त्यस्तै, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, छायलका प्रधानाध्यापक विकास भामले सामग्री वितरणले विद्यालयको सिकाइ वातावरणमा सकारात्मक प्रभाव पारेको बताए । उनका अनुसार, सामग्री पाएका विद्यार्थीहरू निकै खुसी छन् र उनीहरूको अध्ययनप्रतिको चासो थप बढेको छ ।

सामग्री पाएका विद्यार्थीहरूले पनि कापी–कलमले आफूहरूलाई थप लगनशील हुन प्रेरित गरेको प्रतिक्रिया दिएका छन् । अक्कल कोपिला फाउन्डेसनले यस अघि छायांनाथ–रारा नगरपालिकाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आएको थियो । हाल फाउन्डेसनले सेवा क्षेत्र विस्तार गर्दै मुगुम कार्मारोङ गाउँपालिकाका विद्यालयमा पनि सहयोग थालेको अध्यक्ष अक्कल बोहोराले बताए । बोहोराका अनुसार, ग्रामीण क्षेत्रमा शैक्षिक पहुँच विस्तार, मनो–सामाजिक प्रोत्साहन र सिकाइ वातावरण सुदृढीकरणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने अध्यक्ष बोहोराको भनाई छ ।

फाउन्डेसनले मुगुमा विपन्न परिवारलाई राहत वितरण, प्रतिक्षालय निर्माण, सडक तथा धर्मशाला निर्माण, विद्यालय खेलमैदान विकासजस्ता सामाजिक सेवामा पनि निरन्तर योगदान गरिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update