Harsamaya
हङकङ ट्रान्जिट हुँदै अब ‘ट्रान्जिट भिसा’को शर्त नलाग्ने
सांकेतीक तस्वीरः हर समय/harsamaya

काठमाडौं - हङ्कङको सरकारले नेपाली राहदानीबाहक यात्रुलाई नेपालबाट हङ्कङ ट्रान्जिट हुँदै अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने शर्तमा दिने ट्रान्जिट भिसा हटाएको छ ।

नेपाली महावाणिज्य दूतावास हङ्कङले भोलि शनिबार (सन् २०२५ को नोभेम्बर १५) देखि लागू हुनेगरी चीनको विशेष प्रशासकीय क्षेत्र, हङ्कङको सरकारले उक्त व्यवस्था गरेको जानकारी दिएको छ ।

महावाणिज्य दूतावासले आज एक विज्ञप्ति जारी गरी निरन्तरको कूटनीतिक पहल एवं अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र, हङ्कङको सरकारले उक्त व्यवस्था गरेको जानकारी गराएको छ । नेपाली राहदानीबाहक यात्रुलाई सन् २००५ जुनदेखि हङ्कङ अन्तरराष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्दा ट्रान्जिट भिसा लिनुपर्ने नियम लागू गरिएको थियो ।

हङ्कङ सरकारले ट्रान्जिट भिसाको बाध्यात्मक प्रावधानलाई हटाएपश्चात हङ्कङ ट्रान्जिट हुँदै यात्रा गर्ने नेपाली राहदानीबाहक यात्रुलाई यात्रामा सहजता हुने विश्वास गरिएको महावाणिज्य दूतावासले उल्लेख गरेको छ । 

साथै, यो प्रावधानले नेपाली राहदानीबाहक यात्रुहरूलाई हङ्कङ ट्रान्जिट भएर यात्रा गर्न प्रोत्साहन मिल्ने ठानिएको जनाइएको छ ।

महावाणिज्य दूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हङ्कङ सरकारको यो कदमले नेपाल र हङ्कङ सरकारको द्विपक्षीय सम्बन्धलाई अझ मजबुद बनाउन सहगोग पुर्याउने हुँदा सराहनीय एवं प्रशंसनीयसमेत रहेको छ । अतः नेपाल सरकारको तर्फबाट महावाणिज्य दूतावास हङ्कङ सरकारलाई धन्यवाद दिन चाहन्छ ।”

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  २१:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update