काठमाडौं - नेपाली काँग्रेसका नेता कल्याण गुरुङले महामन्त्रीहरू माथि प्रश्न वर्षाएका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै गुरुङले देश जलिरहेको समयमा विशेष महाधिवेशन किन भन्दै महामन्त्रीहरूमाथि प्रश्न वर्षाएका हुन् । उनले विशेष होइन नियमित महाधिवेशनको पक्षमा रहेको पनि स्पष्ट पारेका छन् ।
उनले दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई सभापतिले जस्तै महामन्त्रीहरुले पनि पार्टी र देशमा भइरहेको अहिलेको अवस्थाबारे जिम्मा लिनुपर्ने बताए । उनले सभापति शेरबहादुर देउवाले उपसभापतिलाई कार्यवाहकको जिम्मेवारी दिएजस्तै महामन्त्रीद्वयले सह-महामन्त्रीहरुलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिने आँट गर्न सक्ने कि नसक्ने भन्दै प्रश्न गरेका छन् ।
उनले पार्टीका हरेक तह र तप्कामा भाग खोज्ने महामन्त्रीहरूले पार्टीको अहिलेको बेथितिबारे पनि भाग लिनुपर्ने बताए ।
उनले लेखेका छन्, ‘स्थानीय तह, प्रदेश तह र संघीय तहको उम्मेदवारी तय गर्दा महामन्त्रीहरुले पनि भागबण्डा लिएका छन्, अहिलेको बेथितिहरुको सम्पुर्ण दोष आदरणीय सभापतिको टाउकोमा राखेर महामन्त्रीहरु चोखो हुन कसरी मिल्छ ? सम्पुर्ण निर्णय प्रक्रियामा सहभागी भएको कारणले महामन्त्रीहरुले पनि पार्टीले गरेको सबै निर्णयहरुको जिम्मेबारी लिनु पर्दैन र ?’

