काठमाडौं - पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै लियोनमाथि सनसनीपूर्ण जित निकालेको छ ।
पिएसजीका लागि जोएओ नेभेसले निर्धारित समयपछि थप भएको समयको पाँचौँ मिनेटमा हेडमार्फत गोल गरेका हुन् ।
रोमाञ्चक बनेको खेलको पहिलो हाफको आठ मिनेटको अन्तरमा तीन गोल भएका थिए । उक्त खेलको २६ औँ मिनेटमा गोल गर्दै वारेन जायर एमरीले पिएसजीलाई अग्रता दिलाएका थिए ।
खेलको ३० औँ मिनेटमा लियोनका अफोन्सो मोरेइराले बराबरी गोल फर्काए भने ३३ औँ मिनेटमा पिएसजीका खिभिखा काभारात्खेलियाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
अतिरिक्त समयकै तीन मिनेटमा लियोनका डिफेन्डर निकोलस टयाग्लियाफीको लगातार दोस्रो पहेँलो कार्ड पाएसँगै मैदानबाट बाहिरिएका थिए । त्यसपछिको दुई मिनेटमै खेल रोमाञ्चक ढंगले पिएसजीको पक्षमा पुग्यो ।
दोस्रो हाफको ५० औँ मिनेटमा लियोनका आइन्सली मेटल्यन्डले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए । त्यसपछि अन्तिम समयसम्म बराबरी भएको खेलमा पिएसजीले अतिरिक्त समयमा बाजी मारेको हो ।
यो जितसँगै १२ खेल खेलेको पिएसजी २७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

