काठमाडौं - ललितपुरस्थित गोदावरीको बडिखेलमा जीवन विज्ञान प्रतिष्ठानले एक दिवसीय तनाव विसर्जन कार्यशालाको आयोजना गरेको छ ।
कार्तिक २२ अर्थात आजबाट सुरु भएको कार्यशालामा करिब १५० जनाको उत्साहजनक सहभागिता रहेको जीवन विज्ञानका प्रशिक्षक महेश नेपालले जानकारी दिए ।
उनले आम मानिसहरुमा पेशा अनुसार फरक फरक तनावग्रस्थ अवस्थामा रहेको भन्दै त्यसलाई न्यूनीकरण गर्न एक दिवसीय तनाव विसर्जन कार्यशालाको आयोजना गरेको बताए ।
उनले भने, ‘सबैलाई तनाव छ । मानिसमा पेशा अनुसारको तनाव छ । तनावलाई कसरी विसर्जन गर्ने, कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा गोदावरी क्षेत्रमा रहेको विष्णुनारायण प्रयोगशालाको वरिपरिका साधक–साधिका र वरपरका मानिसहरूलाई कसरी तनावलाई घटाउनका लागि कार्यशालाको आयोजना गरिएको हो । जीवन विज्ञान प्रतिष्ठानले एक दिवसीय तनाव विसर्जन कार्यशालाको आयोजना गरेको हो । करिब १५० जनाको सहभागिता छ । सहभागीहरूमा एकदम उत्साह छ, उमङ्ग छ ।’
उनले टौखेल जीवन योग प्रयोगशालाको सहकार्य रहेको यस कार्यशालामा गोदावरी नगरपालिका वडा नम्बर ४ को सहयोग गरेको बताए । उनले यस्ताखाले कार्याशालाका माध्यमबाट ब्लड प्रेसर, मधुमेह, थाइराइड जस्ता समस्याहरुमा कमी आएको पाइएको बताए ।
यस्तै, सहभागी कमला दाहाल घिमिरेले दिनानुदिन आत्महत्याको संख्या बढ्नु तनावकै कारण भएको भन्दै तनावलाई समयमा नै व्यवस्थापन गर्नुपर्ने बताइन् ।
‘तनाव धेरै छ, धेरै भयावह रूपमा तनाव बढिरहेको छ । दिनानुदिन आत्महत्याको संख्या पनि बढिरहनुको कारण तनाव नै हो । समाजमा सबै खालका व्यक्तिहरू धेरै रोगहरू बोकेर बसेका छन् र यसको मूल कारण पनि तनाव नै हो,’ उनले भनिन् । उनले आफ्नो मनमा भएको समस्या नहटाएसम्म स्वस्थ्य हुन नसकिने जनाइन् । उनले आफूमा भएको तनावलाई आफैंले कम गर्दै लैजान सकिने भएकाले जीवन विज्ञानको कार्याशालाले सहयोग पुर्याउने धारणा राखिन् ।
‘जीवन विज्ञानका विधिहरू प्रयोग गरेर तनावलाई फाल्न सक्छौँ र मैले पनि फालेँ । तनाव कम गर्ने सैद्धान्तिक कुरा मात्र जानेर हुँदैन् । ध्यानका विधिहरू प्रयोग गर्दै आन्तरिक सफाई गरेर मात्रै तनाव हटाउन सक्ने रहेछौं । वैज्ञानिक प्रयोगात्मक विधिहरू प्रयोग गरेर स्वस्थ्य हुनसक्छौं,’ उनले भनिन् ।
कार्याशालामा सहभागी सविता महर्जनले तनाव विसर्जन कार्यक्रमले जीवनमा आइपर्ने समस्या समाधान गर्न र आफ्नो जीवनबारे आफैं जानकार रहन पाइने उल्लेख गरिन् । कार्यशालामा प्रशिक्षकहरुले नाच्दै, गाउँदै र ध्यानका माध्यमबाट सिकाएका कुराहरुलाई सहभागीहरुले उत्साहका साथ ग्रहण गरेका थिए ।

