काठमाडौं - वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।
कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत आश्वासनप्रति विश्वास नगर्न र यस्ता झुटा प्रचार, गलत सूचना, अफवाहप्रति सचेत रही ठगी हुनबाट जोगिन शाखाले प्रेस विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।
साथै शाखाको नाम प्रयोग गरी विभिन्न नक्कली फेसबुक तथा सामाजिक सञ्जालमा अन्य पेज बनाई सेवाग्राहीमा भ्रम फैलाउने गरेको पाइएकाले कोरियन भाषा पढ्दै गरेका र रोष्टरमा रही इसुको प्रतीक्षामा रहेका सबै सरोकारवालालाई यस्ता आधारहीन भ्रमपूर्ण सूचनाको पछाडि नलाग्न इपिएस कोरिया शाखाले अनुरोध गरेको छ ।
नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली इपिएस सम्झौता भएपश्चात् हालसम्म करिब एक लाख २० हजार नेपाली श्रमिक दक्षिण कोरिया गएर रोजगारीको अवसर प्राप्त गरिसकेका छन् ।
एचआरडी सर्भिस अफ कोरियाबाट कोरियन भाषा परीक्षा र स्किल टेस्ट भएपश्चात् उत्तीर्ण व्यक्तिलाई रोष्टरमा नाम चढाउन निजहरुको विवरण अनलाइन प्रणाली (सेन्डिक पब्लिक एजेन्सी सिस्टम, एसपिएएस) मार्फत इपिएस कोरिया शाखाबाट कोरिया पठाउने गरिएको छ ।

