काठमाडौं - होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिता आजबाट हुँदै छ । सोमबार सबै तयारी पूरा भएको प्रतियोगिता मंगलबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ ।
प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/गल्र्स सिंगल्स तथा ब्वाइज/गल्र्स डबल्समा खेल हुनेछ । खुलामा पुरुष/महिला सिंगल्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १ सय ३६ पुरुष र ८३ महिला खेलाडी सहभागी हुने छन् ।
दोश्रो संस्करणमा खुला स्पर्धा थपिएको हो । उमेर समूहको सबै स्पर्धा पहिलो संस्करणमा पनि थियो । नेपाल टेनिस संघको सहयोग तथा जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) को संयोजनमा हुन लागेको प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख ७८ हजार रुपैयाँ रहेको छ । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ ।
पहिलो संस्करणको पुरस्कार राशिमा दोब्बर भन्दा बढीले वृद्धि गरिएको हो । पहिलो संस्करणको कुल पुरस्कार राशि १ लाख ११ हजार रुपैयाँ रहेको थियो । प्रतियोगिता कात्तिक २२ गते सम्पन्न हुनेछ ।

