काठमाडौं - सहरी विकास मन्त्री कुलमान घिसिङले बञ्चरेडाँडाका स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूलाई स्थानीयको माग १५ दिन भित्र पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीयबासी र ककनीका जनप्रतिनिधिसँग मन्त्री घिसिङले हालसम्म गरिएका सहमति १५ दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएपछि फोहोर फाल्न दिने सहमति भएको छ ।
बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमनमा पुगेका मन्त्री घिसिङले फोहोर सम्पत्ती भएकाले यसलाई पैसामा परिणत गर्न सबैले फोहोरको व्यवस्थापन घरबाट गर्न पहल गर्नुपर्ने बताए ।
उनले भने, ‘फोहोर भनेको फोहोर होइन, सम्पती हो, पैसा हो । त्यो पैसामा कसरी परिणत गर्ने भन्ने विषयलाई हामीले अगाडि बढाउन पर्छ । हरेक घरबाट नै फोहोरको व्यवस्थापन घरबाट निस्केपछि त्यसको व्यवस्थापन गरी सबै प्रदुषणलाई कसरी हटाउन सकिन्छ यसमा आम नागरिकको हिसाबले समाधान तर्फ जानुपर्छ ।’
बञ्चरेडाँडाको समस्या अदालतसँग जोडिएको भन्दै अदालत र सरकारले स्थानीय निकायहरुको लागि बाटो खोल्नुपर्ने बताए ।
‘यहाँ धेरै कुराहरु अदालतसँग जोडिएको छ । कतिपय विषय अदालत पुगेर पनि डेटलकमा बसेको विषयहरु पनि छ । यस्ता विषय डेटलकमा बस्नुहुँदैन । अदालतले पनि हेर्नुपर्छ । सरकारले हेर्नुपर्छ । स्थानीय निकायले हेर्नुपर्छ,’ उनले भने ।
मन्त्री घिसिङ सहित आइतबार बिहानै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वातावरण विभाग प्रमुख सरिता राई सहितको टोली बञ्चरेडाँडामा पुगेका थिए ।

