 
                                                            काठमाडौं - बेलायतका राजा चार्ल्स तृतीयले आफ्ना कान्छा भाइ एन्ड्र्यूको राजकीय अधिकार खोसेका छन्। बेलायती सञ्चार माध्याम बिबिसीका अनुसार बकिंघम दरबारले बिहीबार विज्ञप्ति जारी गर्दै एन्ड्र्यूको राजकुमार पद, राजकीय उपाधि, सम्मान र अधिकारहरू कानुनी रूपमै खोस्ने प्रक्रिया सुरू गरिएको जानकारी गराएको हो।
दरबारले अब उनलाई एन्ड्र्यू माउन्टब्याटन विन्डसर नामले मात्रै चिनिने भनेको बिबिसीले लेखेको छ । उनलाई लण्डनस्थित राजसी निवास रोयल लजबाट समेत निकालिने र बस्नका लागि निजी आवासको व्यवस्था गरिने बकिंघम दरबारले जनाएको छ।
बालिकाहरूलाई वेश्यावृत्तिमा संलग्न गराएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनसँगको सम्बन्धका कारण इन्ड्र्यूलाई राजकीय पद, अधिकार र सम्मानबाट बञ्चित गराइएको न्यूयोर्क टाइम्सले लेखेको छ।
एपस्टिनले शक्तिशाली व्यक्तिहरुका लागि 'कलिला किशोरीहरू व्यवस्था गर्ने' चर्चा केही दशकदेखि नै चल्दै आएको थियो । एक महिलाले वर्षौंअघि आफू किशोरी हुँदा तत्कालीन बेलायती राजकुमार एन्ड्रयू (हालका राजा चार्ल्सका भाइ) ले यौन सम्बन्ध राखेको आरोप लगाएकी थिइन्।
यही कारणले सन् २०१९ मा एन्ड्रयूलाई सार्वजनिक जिम्मेवारीबाट निलम्बन गरिएको थियो भने २०२२ मा महारानी एलिजाबेथ द्वितीयले एन्ड्र्यूको सैनिक उपाधि र 'हिज रोयल हाइनेस' को प्रयोग अधिकार फिर्ता लिएकी थिइन्।


 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    