Harsamaya
स्थानीयवासीद्वारा बञ्चरेडाँडामा फोहर विसर्जनमा अवरोध
सांकेतिक तस्वीर: हर समय/Har Samaya

नुवाकोट - स्थानीयवासीको अवरोधका कारण  बञ्चरेडाँडामा  फोहर विसर्नमा समस्या भएको छ । नुवाकोटको ककनी र धादिङको धुनबेसीस्थित सो स्थानमा फोहर विसर्जन हुँदै आएका क्षेत्रका प्रभावित स्थानीयको अवरोधको कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडी विसर्जन नगरी फर्किएका छन् ।

फोहर विसर्जन कार्य वैज्ञानिक रूपमा व्यवस्थित हुनुपर्ने लगायत विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले फोहर फाल्न अवरोध गरेको धुनबेसी नगरपालिका–१ का स्थानीय दीपेन्द्र लामाले जानकारी दिए । 

उनको अनुसार सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि विगतमा भएको १८ बुँदे सहमति कार्यान्वयनको माग मुख्य रूपमा राखिएको छ ।

ककनी गाँउपालिका–१ र २ तथा  धुनबेसी नगरपालिका–१, २ र ३ वडाका स्थानीयबासी दुई जिल्लाको सङ्गम ढाँडेस्थित सडकमा बसेर फोहर विसर्जन गर्न आएका गाडीलाई फिर्ता पठाइदिएका जनाइएको छ । 

स्थानीयहरुले विसं २०७९ जेठ २६ मा भएको १८ बुँदे सहमतिमा उल्लेख भएको फोहर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहर बोकेका गाडीले लिच्चड नचुहाउने, र फोहर विसर्जन पश्चात लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने काठमाडौँ महानगरपालिकासँग भएको सहमति कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

उक्त सहमति कार्यान्वयन नहुँदा प्रभावित क्षेत्रमा फोहरबाट दुर्गन्ध फैलिएर सरुवाजन्य रोगको सक्रमण बढेको र दैनिक जनजीवन प्रभावित भएको उनीहरुले गुनासो गरेका छन् । 

आफूहरुको मागको सम्बोधन र सहमति कार्यान्वयनको प्रतिबद्धता जनाउन काठमाडौँ महानगरपालिकाको प्रतिनिधि प्रभावित क्षेत्रमा नै आउनुपर्ने माग गर्दै सिसडोल, कुँडुले, ढाँडेको सडकमा सयौँको सङ्ख्यामा स्थानीयहरु शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update