Harsamaya
 अब नेपालमा सामाजिक सञ्‍जाल बन्द हुँदैन - सञ्‍चार मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ।

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन् । 

बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आवद्ध बिभिन्न संघ संस्थासंस्थाहरुसंगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले सामाजिक सञ्जाललाई बन्द नगर्ने स्पष्ट पारे ।

सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सवैले साथ दिनुपर्ने उनले बताए । 

मन्त्री खरेलले नयाँ मूलधारको सञ्चारमाध्यमलाई सरकारले चिनेको भन्दै सदैव प्राथमिकतामा राख्ने उल्लेख गरे । उनले अनलाइन सञ्चारमाध्यमको नविकरण र दर्ता सूचना विभागबाटै सुरु गर्न मन्त्रिपरिषद्मा नियमावली पेश गरि पारित हुने जानकारी दिए ।

केही दिनभित्र राजपत्रमा प्रकाशित भएपछि अनलाइन सञ्चारमाध्यमको नविकरण र दर्ता सूचना विभागबाटै हुने उनको भनाइ छ ।

छलफलका क्रममा अनलाइन टिभि सञ्चालका साथै डिजिटल सञ्चार माध्यममा प्रतिनिधिहरुले राज्यले आफूहरुलाई प्राथमिकतामा नराखेको गुनासो गरेका थिए । 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update