नेपाल श्रीलंकासँग पराजित
काठमाडौं - सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ ।
ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा श्रीलंकासँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । यससँगै नेपालले प्रतियोगितामा चौथो हार बेहोरेको छ । नेपालले जारी प्रतियोगितामा एउटा खेल मात्रै जितेको छ ।
पाँच खेलबाट चार अंक जोडेको नेपाल पाँचौं स्थानमा रह्यो । यसअघि माल्दिभ्सलाई हराएको नेपाल तुर्किमिनिस्तान, अफगानिस्तान र बङ्गलादेशसँग पराजित भएको थियो । आज नेपाल श्रीलंकासँग पहिलो सेट १८–२५ ले पराजित भयो भने दोस्रो सेट, १७–२५ तथा तेस्रो सेट २०–२५ ले गुमायो ।
सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि यस प्रतियोगितामा नेपालले पाँचौं स्थानको प्लेअफका लागि माल्दिभ्ससँग भोलि प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२ १७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

