Harsamaya
पाकिस्तान–अफगानिस्तान सीमामा झडप, ३० जनाको गयो ज्यान 
तस्बिर: डेली अब्जरबर

काठमाडौं - टर्कीको इस्तानबुलमा शान्ति वार्ता जारी रहँदा पाकिस्तान–अफगानिस्तान सीमामा झडप भएको छ । बंगलादेशको सञ्चार माध्याम डेली अब्जरबरका अनुसार पाकिस्तानको इन्टर–सर्भिस पब्लिक रिलेसन्सले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उक्त झडपमा पाँच पाकिस्तानी सैनिक र २५ विद्रोही लडाकु मारिएका छन् ।

यो घटना दुई छिमेकी राष्ट्रबीच वर्षौंदेखि जारी घातक द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इस्तानबुलमा भइरहेका शान्ति वार्ताको क्रममा भएको हो । इन्टर–सर्भिस पब्लिक रिलेसन्सको विज्ञप्तिअनुसार शुक्रबार र शनिबार लडाकुहरूले अफगान भूमिबाट पाकिस्तानका कुर्म र उत्तरी वजिरिस्तान जिल्लामा घुसपैठ गर्ने प्रयास गरेका थिए ।

पाकिस्तानी सेनाले यी दुर्गम उत्तर–पश्चिमी सीमा क्षेत्रहरूमा भएका घुसपैठ प्रयासहरू सफलतापूर्वक विफल पारेको विज्ञप्तिमा थप भनिएको छ । इन्टर–सर्भिस पब्लिक रिलेसन्सले विशेष गरी अफगान भूमिबाट आतंकवादी गतिविधि रोक्ने बारम्बार गरेको प्रतिबद्धतापछि यी आक्रमणका प्रयासहरूले अफगान सरकारको नियतमाथि शंका उत्पन्न गरेको थप जनाएको छ ।

यद्यपि, बेलायती समाचार एजेन्सी रोयटर्सका अनुसार अफगानिस्तानको तालिबान सरकारले तत्काल टिप्पणीका लागि गरिएको अनुरोधमा कुनै प्रतिक्रिया दिएको छैन । तालिबानले लडाकुहरूलाई आश्रय दिएको आरोप निरन्तर अस्वीकार गर्दै आएको छ । पाकिस्तानले सीमापार सैन्य कारबाही गरेर अफगानिस्तानको सार्वभौमसत्ता उल्लंघन गरेको आरोप लगाउँदै आएको छ ।

यस महिनाको सुरुआतमा दुई सेनाबीच भएको झडपपछि थप तनाव बढ्न नदिन पाकिस्तानी र अफगान अधिकारीहरूले इस्तानबुलमा भेटघाट सुरु गरेका थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update