Harsamaya
वार्तामा बस्न दुर्गा प्रसाईं तयार, सरकारलाई पठाए पत्र
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ ।

काठमाडौं - राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले आफू सरकारसँग वार्तामा बस्न तयार रहेको बताएका छन्। आइतबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, सबै सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलका क्रममा उनले गृह मन्त्रालयसँग वार्तामा बस्न आफू तयार रहेको भन्दै पत्र बुझाएका हुन्। 

यसअघि गृह मन्त्रालयले आन्दोलनरत प्रसाईँसहित विभिन्न समूहलाई वार्ताबाटै समाधान खोज्न आह्वान गरेको थियो। आइतबारका छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रसाईँ आन्दोलनमा गए आफ्नै लागि घातक हुन सक्ने भन्दै सुझाएका थिए। लगत्तै प्रसाईँले पनि तत्कालका लागि कुनै पनि कार्यक्रम नभएको जानकारी गराएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताए।  'उहाँले म वार्तामा बस्न चाहेको भन्ने आशयको पत्र दिनु भएको छ। यो पत्र हामीले गृह मन्त्रालय पुर्‍याउँछौँ' प्रमुख जिल्ला अधिकारी पौडेलले भने।

यसअघि प्रसाईँले चेतावनीपूर्ण दिँदै आएका अभिव्यक्ति र सामाजिक सञ्जालको पोस्टको विषयमा पनि प्रमुख जिल्ला अधिकारीहरूले चासो राखेका थिए।  

तर, प्रसाईँले अहिले तत्काल आन्दोलन थालिहाल्ने पक्षमा आफू नरहेको जवाफ दिएका थिए। प्रसाईँले आन्दोलन घोषणा गरेपछि सुरक्षा विश्लेषण गरेर त्यसअघि नै आन्दोलन रोक्न उनीसँग तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसहितको बैठक भएको हो। 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update