Harsamaya
अर्ग्यानिक बस्तुको बिक्री : संघर्ष र प्रेरणाले सफल व्यवसायीको परिचय दिँदै बाजुराका तिमिल्सेना
गोविन्द्र राज तिमिल्सेना ।

बाजुरा - बाजुराको बडी मालिका नगरपालिका ९ का शिवलाल तिमिल्सेनाले यति बेला सदरमुकाम मार्तडीमा अर्ग्यानिक बस्तुको बिक्रीबाट सफल उद्यमी व्यवसायीको परिचय दिँदै आएका छन् ।

४० वर्षसम्म शिक्षक पेसा अँगालेका उनले शिक्षक पेसाबाट सेवा निवृत्त भए पश्चात् मार्तडीमा आफ्नै अर्ग्यानिक बस्तुको सङ्कलन तथा बिक्रिवितरण केन्द्र ‘तिमिल्सेना अर्ग्यानिक किराना पसल’ स्थापना गरी सञ्चालनमा ल्याएका छन् ।

वि.सं.२०४० साल चैत्र ८ गतेबाट शिक्षक पेसा अँगालेका उनले  ४० वर्षको अवधिसम्म शिक्षक पेसाबाट ठुलो अनुभव बटुली अहिले स्थानीय स्तरमा उत्पादित रैथाने खाद्यान्न बालीहरूको सङ्कलन गरेर राम्रो व्यवसाय गर्दै आएका छन् । चोया कोट माविमा १३ वर्ष र मालिका नमुना माविमा २७ वर्षसम्म उनले शिक्षण गरेका थिए ।

मानिसको लागि पेसा व्यवसाय कुनै पनि सानो ठुलो हुँदैन भन्ने उदाहरण उनले दिएका छन् । अर्ग्यानिक बस्तु सङ्कलन तथा बिक्रीबाट तिमिल्सेनाले सफल उद्यमी व्यवसायको परिचय दिएका हुन् । उनको बिक्री केन्द्रमा स्थानीय स्तरमा उत्पादित रैथाने खाद्यान्न तथा दलहन बाली सङ्कलन तथा बिक्री गर्ने गरिएको छ ।

शिक्षक पेसाबाट निवृत्त भएपश्चात्  गाउँमै अझै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ मार्तडीमा रैथाने बाली सङ्कलन गरेर बिक्री गर्दै आएको व्यवसायी तिमिल्सेनाले बताए । केही नयाँ र यहाँको रैथाने बालीको संरक्षण, प्रवर्द्धन गर्नुपर्छ भन्ने चाहनाका साथ आफूले ‘तिमिल्सेना अर्ग्यानिक किराना पसल’ स्थापना गरेको बताए ।

आफूले स्थापना गरेको तिमिल्सेना अर्ग्यानिक किराना पसलमा अर्ग्यानिक रैथाने बालीनालीको सङ्कलन र बिक्री वितरण गर्ने गरिएको तिमिल्सेना बताए । आफूले यो भन्दा अगाडी सामान्य दैनिक उपभोग्य सामानको व्यापार गर्दै आएकोमा अहिले शिक्षक पेसाबाट निवृत्त भएपश्चात्  यो व्यवसाय अँगालेको बताएका छन् ।

गाउँकै अर्ग्यानिक बालीनालीको सङ्कलन गरेर बिक्री तथा संरक्षण, प्रवर्द्धन गर्ने,स्थानीयको उत्पादन रैथाने बाली गाउँमै सीमित नभई देशका ठुलठुला सरहसम्म पुर्‍याउन उनको अर्ग्यानिक बस्तु सङ्कलन तथा बिक्री केन्द्रले ठुलो सहयोग गरेको छ । अहिले तिमिल्सेनाको अर्ग्यानिक किराना पसलबाट अर्ग्यानिक बस्तु काठमाडौं, नेपालगन्ज,पोखरा त्यस्तै भारतसम्म जाने गरेको छ ।

उनले अहिले करिब एक सय बढी स्थानीय उत्पादित रैथाने तथा खाद्यान्न बाली सङ्कलन गरेर बिक्री वितरण गर्दै आएका  छन्। उनले भने,‘अहिले बाजुरामा उत्पादन भएको स्थानीय अर्ग्यानिक बस्तुहरू देशका ठुला सहरमा बेच्ने गरेको छु । अर्ग्यानिक वस्तु बिक्रीबाट राम्रो आम्दानी हुनुका साथै राम्रो व्यवसाय भएको दिनमा एकै दिन ३० हजार बढी आम्दानी हुने गरेको छ ।’

स्थानीय सरकारले आफ्नै स्थानीय उत्पादित बस्तुहरूलाई प्रवर्द्धन तथा बजारीकरणको नीति अवलम्बन गर्न आवश्यक रहेको बताए । यसले व्यवसायी उद्यमशीलता मात्र नभई, स्थानीय रोजगारी, वातावरणीय स्थिरता र आर्थिक समृद्धिमा समेत योगदान पुर्‍याउन सकिने उनको भनाइ छ  ।बाजुराको अर्ग्यानिक वस्तुहरूलाई बजारीकरण गर्न सकिएको खण्डमा स्वरोजगारका साथै देशको आर्थिक स्थितिमा टेवा पुर्‍याउन सकिने उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update