
काठमाडौं - बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले उद्योगहरूको विद्युत् लाइन काटेको छ । प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेका ६ उद्योगमा लाइन काटेको हो।
प्राधिकरणले मंगलबार बिहानबाट ६ वटा उद्योगमा लाइन काटेको हो । सुरुमा सबैभन्दा धेरै बक्यौता रहेका उद्योगको लाइन काटेको प्राधिकरणले बताएको छ।
विद्युत प्राधिकरणका अनुसार, जगदम्बा स्टिल, रिलायन्स स्पेनिङ मिल्स, शिवम सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पेनिङ मिल्सको लाइन काटिएको काटेको हो। जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको ७५ करोड ३७ लाख, शिवम् को ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ रहेको छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुल बापतको हो ।
बक्यौता नतिर्ने अरू उद्योगको पनि क्रमशः लाइन काट्दै जाने र पैसा तिरेको अवस्थामा तत्कालै लाइन जोड्ने प्राधिकरणले जानकारी दिएको छ।