Harsamaya
कार्गो जहाज धावनमार्गबाट चिप्लिदा दुई जनाको मृत्यु

काठमाडौं - हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट एक कार्गो विमान चिप्लिएर समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ। स्थानीय सञ्चार माध्याममा उल्लेख गरिए अनुसार इमिरेट्सको उडान ईके ९७८८ को उक्त बोइङ स्थानीय समयअनुसार लगभग ३:५० मा हङकङ आइपुगेको थियो। अवतरणका क्रममा उक्त जहाजले धावनमार्गको दक्षिणमा रहेको एउटा सवारी साधनलाई ठक्कर दिएको थियो।

त्यस क्रममा दुईजना 'ग्राउन्ड स्टाफ' समुद्रमा खसेका थिए। उनीहरूको दुर्घटनास्थलबाट उद्धार गरिएको भएपनि अस्पतालमा मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। समाचारमा जनाइए अनुसार विमानमा चालक दलका चार सदस्य सवार थिए। उनीहरू जीवितै रहेको र अस्पताल लगिएको छ।

अग्निनियन्त्रक दलका सदस्यहरू दुई मिनेटमै घटनास्थल पुगेका थिए। जहाज दुई टुक्रा भएको र एउटा पानीमा तैरिरहेको अवस्थामा भेटिएको उनीहरूले बताएका छन् । घटना भएको धावनमार्ग बन्द गरिएको छ तर विमानस्थलका अन्य दुई धावनमार्ग सञ्चालनमा रहेका बताइएको छ।

विमानस्थलमा सोमवार कम्तिमा ११ वटा कार्गो जहाज अवतरण गर्ने तालिका रहेकामा सबै रद्द गरिएका विमानस्थलको वेबसाइटमा जनाइएको छ। - विविसीबाट 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update