
काठमाडौं - सडक विभागले दसैँमा काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ ।
मुलुकका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब यात्रुहरूले सास्ती भोग्न नपर्ने विभागले जनाएको छ । पृथ्वी, अरनिकोलगायत मुख्य राजमार्ग पहिरोका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको थियो ।
यसअघि पहिरोका कारण मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध हुँदा यात्रुहरू ४० घण्टाभन्दा बढी समय ट्राफिक जाममा बस्न बाध्य भएका थिए । विभागका प्रवक्ता प्रभातकुमार झाले अब ठूलो वर्षा नभए समस्या नआउने विश्वास व्यक्त गरे । । दसैंका लागि यात्रु बाहिरिने क्रम सुरु हुनासाथ पहिरोका कारण पृथ्वी, अरनिकोलगायत मुख्य राजमार्ग नै पूर्ण रूपमा अवरुद्ध भएका थिए ।
हाल चार राजमार्ग पूर्ण रूपमा र एक सय ७१ राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् । यसबाहेक ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी राजमार्ग अवरुद्ध हुँदा स्याउपार्किङ, रसुवागढीमा यातायात ठप्प छ । विभागका अनुसार हाल एक्साभेटर तथा लोडर प्रयोग गरी अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको छ । गत साउन १४ गते चीनबाट बाढी आएको र नदीले सडक कटान गरेको कारण उक्त राजमार्ग अवरुद्ध भएको हो ।